ताजा अपडेट »

शिलालेख फिर्ता गर्नेलाई मूख्यमन्त्रीको ५ हजार अफर

शनिबार, ०८ फागुन २०७७, ०९ : ३६
6 Shares

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा झोलुङे पुल उद्घाटन गर्नुअघि नै शिलालेख गायव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फिर्ता गर्नेलाई ५ हजार नगद पुरस्कारकार घोषणा गर्नु परेको छ । हिजो (शुक्रबार) मुख्यमन्त्रीले उद्घाटन गर्ने भनिएको पुलमा राखिएको शिलालेख हराएपछि मुख्यमन्त्रीले बदमासी गर्नेलाई कुनै सजाय नदिने बरु उल्टै ५ हजार नगद पुरस्कार प्रदान गरिने बताएका हुन् ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ र लुुम्बिनी सांस्कृतिक नगरपालिका–२ लाई जोड्ने लम्तिहवामा निर्माण गरिएको पुलको लागि राखिएको शिलालेख हराएपछि मुख्यमन्त्रीले रिबन काटेर पुलको उद्घाटन गरे । दानव नदीमा २ सय ३ दशमलव ८ मिटर लामो झोलुङे पुल बनेको हो । मुख्यमन्त्री पोखरेलले पुल उद्घाटनपछि बोल्दै गायब भएको शिलालेख प्रहरीसमक्ष बुझाउनेलाई पुरस्कार वापत व्यक्तिगत ५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले भने ‘शिलालेख प्रहरीसम्म पुर्याइदिनेलाई प्रहरीले कुनै कारवाही नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ के प्रयोजनको लागि शिलालेख लगिएको र कसको भनाइमा त्यस्तो काम गरिएको जानकारीको अपेक्षा राख्दै अबको दिनमा त्यस्ता काम नगर्न मुख्यमन्त्री पोखरेलले आग्रह समेत गरे ।

यसैगरी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलालेख गायब भएकोप्रति दुःख व्यक्त गरे । उनले शिलालेख चोरी गर्नेको खोजी गर्न र निर्माण कम्पनीले पुनः अर्को शिलालेख लगाउन निर्देशन दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।