ताजा अपडेट »

बुटवलबाट पक्राउ परेका भुषाल र केसीलाई रिहा नगरे सरकारलाई महङ्गो पर्ने मोर्चाको चेतावनी

शुक्रबार, ०७ फागुन २०७७, २२ : ०९
4 Shares

बुटवल । रणनैतिक संयुक्त मोर्चा नेता भेषराज भुसाल र देवबहादुर केसीलाई विना शर्त रिहाई गर्न मोर्चाका नेताहरुले आग्रह गरेका छन् । मोर्चाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता भुसाल र केसीलाई रिहाई गर्न माग गरेका हुंन् । पत्रकार सम्मेलनमा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले शान्तिपूर्ण जनसभामा सहभागि नेताहरुलाई गिरफ्तार गर्नु जनतन्त्रमाथि अपहरण भएको भन्दैं फेरी संघर्षमा जानुपर्नेमा जोड दिए ।

संघर्षकै मोर्चाबाट क्रान्तिकारी शक्तिहरुकाबीचमा बैकल्पिक सरकार बनाउंनुपर्ने बताउंदैं उनले दलाल संसदीय व्यवस्थाभित्रबाट त्यस्तो सरकार नबन्ने जिकिर गरे । नेकपाका केन्द्रीय संयोजक ऋषिराम शर्मा कट्टेलले कम्युनिष्ट पार्टीमा देखिएको विसर्जनवादबाट जोगाउन र दलाल संसदीय व्यवस्थाका विरुद्ध जनक्रान्तिको खाँचो औल्याएँ । गिरफ्तार भएकालाई विना शर्त रिहाई नगरिए सरकारलाई त्यो महङ्गो सावित हुने उनले चेतावनी दिए ।कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

मोर्चाका नेता भुसाल र केसीलाई जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा विहीबार मिलनचोकबाट पक्राउ गरिएको हो । यसैबीच पक्राउ गरि रुपन्देहीको भैरहवास्थित जिल्ला कार्यालयमा राखिएका मोर्चाका नेता केसीलाई आज मोर्चाका नेताद्धय श्रीस र कट्टेल लगायत नागरिक समाज,कानुन व्यवसायी तथा पत्रकारको टोलीले भेट गरेको क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदीले जानकारी दिए ।विहीबार पक्राउ परेका भुसाललाई भने शुक्रबार काठमाण्डौं लगिएको नेता सुवेदीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।