ताजा अपडेट »

कोभिड-१९ जोखिममा योगदान गर्ने पत्रकार पुरस्कृत

शुक्रबार, ०७ फागुन २०७७, १६ : १३
6 Shares

काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस) ले कोभिड–१९ सङ्क्रमणका समयमा जोखिम मोलेर काम गर्ने कर्मचारी एवं पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । राससको ६०औँ वार्षिकोत्सव तथा हीरक वर्षका अवसरमा यहाँ केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले राससकर्मी रोशन सापकोटा (काठमाण्डौं) र चन्द्रकला क्षेत्री (काठमाण्डौं) लाई पुरस्कार प्रदान गरे ।

सोही पुरस्कार रासस फोटोपत्रकार राधिका कँडेल (पोखरा), भद्रपुर कार्यालय प्रमुख चन्द्रकला भण्डारी (झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा, बागलुङ) पनि प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नंं २ बाट गोपालप्रसाद बराल (महोत्तरी) र वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय, काठमाडौँ) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ ।

त्यसैगरी गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम(गलकोट, बागलुङ), प्रदेश नं ५ बाट भेषराज बस्नेत (राँझा, बाँके) र दीपक बोहरा (तुलसीपुर, दाङ) लाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार छ । कर्णाली प्रदेशबाट दाने बोहरा (सिमकोट, हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर, कैलाली) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । यस वर्षको उत्कृष्ट आलेख समाचारमा विजय रावत (खलङ्गा, जुम्ला, शीर्षक : ‘जुम्लामा कालीमार्सी धान रोपाइँको चटारो’) लाई प्रदान गरिएको छ । तस्वीर विधातर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । राससको भौतिक सम्पत्तिको संरक्षण तथा विकास एवं विस्तारमा उल्लेखनीय योगदान दिने रासस कार्यालय भीमदत्तनगर, कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहलाई सम्मान प्रदान गरिएको छ ।

उमेर हदका कारण सेवाविवृत्त कर्मचारी जगतकृष्ण श्रेष्ठ (अधिकृतस्तर तह–७, सहव्यवस्थापक), रमेशकुमार मिश्र (अधिकृतस्तर तह–६, उपव्यवस्थापक) र केशव खत्री (सवारी चालक) लाई मायाको चिनो प्रदान गरिएको छ । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरणको काम गर्दै आएको छ । वि.सं २०१८ फागुन ७ गते निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।

रासस
लेखकको बारेमा
रासस