ताजा अपडेट »

फागुन ७ नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन: उपराष्ट्रपति

शुक्रबार, ०७ फागुन २०७७, १३ : १७

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताए छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले भने “ विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको छ ।”

पटकपटकको राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारीपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोस र अन्यौलता छाउनु सुखद पक्ष नभएको उनले सन्देशमा उल्लेख गरेका छन् । हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक भने अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दु: खद् रहेको उपराष्ट्रपतिको भनाइ छ ।

उपराष्ट्रपतिले २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको बताए । राष्ट्रिय प्रजातन्त्र दिवसले संविधानको पालन र संरक्षणका लागि सबैलाई प्रेरणा दिने र मुलुक सही दिशाबाट अगाडि बढ्ने विश्वास लिएको उपराष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस