February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

प्रजातन्त्र दिवस-फागुन ७ नेपालीको गर्वलाग्दो पर्व

300

जहानियाँ राणा शासनविरुद्धको आन्दोलन चर्किदै थियो । सात सालको फागुन महिना शुरु भएपछि नै राजधानी काठमाडौंँसहित पूर्वी नेपालका झापा, विराटनगरलगायत क्षेत्रबाट आन्दोलनको आंधिबेहरी सिर्जना भयो । मध्य क्षेत्रका हेटौंडा, नारायणघाट हुंँदै पश्चिमका बुटवल, भैरहवा र पाल्पामा समेत आन्दोलनका ज्वारभाटा उठे ।

आन्दोलनको नेतृत्व गरेका पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंहलगायत नेताहरुले सङ्घर्षका कार्यक्रम देशभर सञ्चार गरे । सोहीअनुसार लुम्बिनी अञ्चलका जिल्लामध्ये तराई क्षेत्रमा केआई सिंह र काशीनाथ यादवले आन्दोलनको मोर्चा सम्हाले । अर्घाखाँचीमा काशीनाथ गौतम र पाल्पामा बैकुण्ठध्वज श्रेष्ठले अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्दै थिए । तत्कालीन राणा खानदानका विद्रोही नेता रुद्रशम्शेरकी छोरी धनु महारानी पनि आन्दोलनकै मोर्चामा थिइन् ।

तानसेनको शीतलपाटी र नारायणथान वरपर आन्दोलनकारीले कब्जा जमाएका थिए । त्यही मोर्चाको अग्र भागबाट कल्कलाउँंदो युवक सूर्यदत्त जोशीले जोशिला भाषण गर्दा आन्दोलनकारी उत्तेजित हुन्थे । राणाशासनविरुद्ध चर्का भाषण गरेर जनतालाई भड्काउन खोजेको भन्दै जोशीसहित केशरजङ्ग रायमाझी, कर्णराज क्षेत्रीलगायत नेतालाई प्रहरीले नारायणथानको पोखरीमा चोबल्दै पिट्दै गथ्र्यो । गाउँगाउँबाट हजारौंँ जनता सङ्घर्षको मैदानमा होमिएपछि प्रशासनको केही सीप चलेन । आन्दोलन सफल भयो । प्रजातन्त्र पुनस्र्थापनाको घोषणासंँगै पाल्पा कब्जा गरेर टोली स्याङ्जातर्फ लाग्यो तर बीच बाटामै स्याङ्जामा पनि स्थानीय आन्दोलनकारीले कब्जा गरिसकेको खबर पाएपछि टोली पाल्पातिरै फर्कियो । त्यस समूहमा दुर्गाबहादुर राना, देवराज श्रेष्ठ, कालुराम राना, चिरञ्जीवी, गम्भीरजङ्ग कार्कीलगायत योद्धा थिए ।

मोर्चाको नेतृत्व नगरे पनि २००७ सालको आन्दोलनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका जोशी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट सङ्घर्षमा होमिएका थिए । आन्दोलन शुरु हुनुभन्दा केही महिनाअघि मात्र रायमाझी र क्षेत्रीहरूले उनलाई कम्यूनिष्ट बनाएका हुन् । सानो उमेरमै उनको जोशिलो स्वभाव देखेर आन्दोलनको नेतृत्व सम्हालेका तत्कालीन कांग्रेस नेता वैकुण्ठध्वज श्रेष्ठले जोशीलाई कांग्रेसमा आउन आग्रह गरे । कम्युनिष्टको समूह सानो थियो । कांग्रेसकै नेतृत्वमा आन्दोलन सफल भएकाले जनताले कांग्रेसको महिमा गाउन थालेका थिए । उनलाई पनि कांग्रेस प्रवेश गर्ने चाहना भयो । विसं २००८ को वैशाखमै उहाँ कांग्रेस पार्टीको सदस्य भए ।

प्रजातन्त्र पुनस्र्थापनापछि बिपी कोइरालाका भाषण सुन्न जोशीलगायत युवा विभिन्न जिल्ला पुग्थे । चितवनमा भएको ठूलो जनसभामा कोइरालाले भर्खरै प्राप्त भएको प्रजातन्त्र फेरि पनि सुकिलामुकिलाकै कब्जामा पर्ने र पटक पटक यस्ता सङ्घर्ष गरिरहनुपर्ने भविष्यवाणी गरे । जनताका घरघरमा कृषि उत्पादनको विस्तार गर्ने, विद्यालय खोल्ने, उद्योगधन्दा कलकारखाना खोल्ने र रोजगारीको सिर्जना गरेर मुलुकलाई सम्मृद्ध बनाउने कोइरालाका योजना सुनेर भाषण सुन्न भेला भएका जनता मन्त्रमुग्ध हुन्थे ।

कोइरालाका भाषणबाट झन् प्रभावित हुनुभएका जोशी पूर्णकालीन राजनीतिमै होमिए। सत्र साल, ३६ साल र ४६ सालका आन्दोलनमा उनी पटक–पटक कारागार परे, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरुसँग कैयौंँ समय भूमिगत भए । बाग्लुङ जिल्लाको गलकोटमा जन्मिएर पाल्पा हुंँदै रुपन्देहीको मुर्गियामा बसाइँसराइ गरेका जोशीलाई तीन वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारले प्रजातन्त्र सेनानीको उपाधि दियो । प्रजातन्त्र स्थापना र रक्षाका लागि महत्वपूर्ण योगदान गर्नुभएका ९३ वर्षीय जोशीलाई अझै पनि प्रजातन्त्र खोसिने हो कि भन्ने डर लाग्छ । मुलुकको नेतृत्व गर्ने नेताहरूमा निरङ्कुशता पलाउने खतरा रहेको उनको भनाइ छ । राजनीतिक दलहरूबीचको खिचातानी, अन्तरसङ्घर्ष र विभिन्न गुटमा विभाजन हुने गरेका पार्टीहरूले मुलुकलाई सही दिशामा लैजाने कुरामा उनलाई शङ्का छ । उनलाई आफू कांग्रेसका लागि जीवन उत्सर्ग गरेर पनि नवकांग्रेसीहरूले आफूलाई अपमान गर्ने गरेको दुःखेसो छ ।

‘मेरो घरमा एउटा गुटको नेता भेट्न आउँदा अर्को गुटको कार्यकर्ता रिसाउँंछ’ जोशीले भने । जोशी जस्ता थुप्रै सेनानीको सक्रियता र बलिदानबाट २००७ सालको क्रान्तिले नेपाली जनतालाई ‘रैती’बाट मुक्त बनायो, नागरिकको भावनाको वीजारोपण गर्यो, राष्ट्र र राष्ट्रियताको जनाधार खडा ग¥यो । त्यसैगरी स्थानीय तहमा विभिन्न सामाजिक प्रभाव सिर्जना भए । क्रान्तिका क्रममा पूर्वी नेपालका ब्राह्मण र राईलिम्बू एउटै भातभान्छामा बाँधिए, परिवर्तनको आन्दोलनमा सँगै लडे । पश्चिम नेपालमा ब्राह्मणले हलो जोतेर विद्रोहको बीजारोपण गरे । ‘प्रजातन्त्र दिवस त नेपालीहरुको गर्वलाग्दो पर्व हो । यसको महत्व सबैले बुझनुपर्छ’ प्रजातन्त्र सेनानी जोशी भन्छन् ।

मुलकमा राजनीतिक परिवर्तनको ऐतिहासिक दिन मानिन्छ प्रजातन्त्र दिवस । विसं २०४६ र ६२/२०६३ सालमा भएका आन्दोलनका तुलनामा २००७ सालको क्रान्तिलाई मुलुकको युगान्तकारी राजनीतिक घटनाका रूपमा लिइन्छ । जनतालाई जहानियाँ शासनबाट मुक्त गर्ने महत्वपूर्ण सङ्घर्षमा होमिएका ज्यूंँदा शहीदहरू अझै पनि हाम्रो समाजमा प्रशस्त छन् ।

सात सालको विद्रोहमा सक्रियतापूर्वक सहभागी हुनेमध्येका अर्का योद्धा हुन् पाल्पा तानसेन नगरपालिका वडा नं ८ मा जन्मनुभएका ९३ वर्षीय घण्टप्रसाद अर्याल । विसं २००५ देखि कांग्रेसमा आबद्ध भएर राजनीतिक यात्रा प्रारम्भ गरेका अर्यालले २००७ सालको क्रान्तिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियोे । ‘नेपाली राजनीतिमा २००७ सालको क्रान्तिले नयाँ ढोका खोलेको हो । अहिले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।’ अर्याल भन्छन् ।

प्रजातन्त्रको उदय भएपछि वैचारिक द्वन्द्वका कारण कांग्रेस छाडेर २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका अर्याल परिवर्तनका लागि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा सहभागी हुँदा ११ पटकसम्म कारागार परे । ‘प्रजातन्त्रको उदय भएपछि गाउँमा पहिलो विद्यालय स्थापना गरी बालबालिकालाई अध्ययन अध्यापनको जिम्मेवारी पूरा गरेका अर्यालले शिक्षा, स्वास्थ्यसंँगै पूर्वाधार विकासका क्षेत्रमा समेत नेतृत्व लिएका थिए ।

ब्राह्मणले हलो जोत्न हुँदैन भन्ने मान्यताविरुद्ध गाउँमा हलो जोतेकै कारण छोराको बिहे गर्नसमेत समस्या भएको उनले बिर्र्सेका छैनन् । उनी २०१८ सालमा गाउँस्तरीय निर्वाचनमा प्रधानपञ्चमा निर्वाचित भए भने २०१९ मा पुनः निर्विरोध भई राजनीतिक र सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्दै जानुभयो । ‘परिवर्तनका लागि भएका विभिन्न समयका आन्दोलनपछि अहिले समाजमा परिवर्तन आएको छ । एकात्मक समाज सङ्घीय बनेको छ । राजतन्त्रको निरङ्कुशता हटेको छ । सबै वर्ग र समुदाय अटाउने संविधान बनेको छ । समाजमा सबैको प्रतिनिधित्व राम्रो भएको छ । अब संविधानको प्रभावकारी कार्यान्वयन गरी समाजमा भएका विभेदका रेखाहरू हटाउँदै जानुपर्छ , अर्याल भन्छन् ।

सात सालको क्रान्तिमा उनले पाल्पा जिल्लाबाट नेतृत्व लिए । युवावस्थामा जोश थियो, जांँगर थियो र परिवर्तनको चाहना थियो । त्यसैले तानसेनको शीतलपाटी क्षेत्रमा क्रान्तिको नेतृत्व गरेको स्मरण उनको मनमस्तिष्कमा अझै ताजा छ ।

फागुन ७ नेपाली इतिहासमा एउटा महत्वपूर्ण दिन हो, जो जनताको स्वतन्त्रताको धरोहरको विम्बका रूपमा स्थापित भइसकेको छ । जहानियाँ राणाशासनको तानाशाहीतन्त्र अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको महत्वपूर्ण यो दिवस धेरै वर्षदेखि औपचारिक रूपमा मान्ने, मनाउने काम भइरहेको छ । यस दिनको अर्थ र मर्मलाई बुझ्ने, बुझाउने परिपाटि बदल्न जरुरी छ । राजनीतिक रूपले मुलुक स्वतन्त्र भएको यस ऐतिहासिक दिनको महत्व सबै नागरिकले बुझ्नुपर्छ भन्ने अर्यालको चाहना छ । अर्यालले २००७ सालको आन्दोलनदेखि आजसम्म पुर्याएको योगदानको कदर गर्दै प्रदेश नं ५ सरकारले गत वर्षको फागुन ३ गते उनलाई ‘प्रदेशरत्न’ पदकबाट सम्मान गरेको छ ।

बाग्लुङ्ग जिल्लाको ग्वालीचौर १ न्वारामा जन्मिएका ८४ वर्षीय टीकाराम घिमिरेलाई पनि २००७ सालको क्रान्ति स्मरण छ । घिमिरे भन्छन् ,‘१०४ वर्षसम्म राणाहरूको एकतन्त्रीय शासनबाट नेपालीलाई मुक्ति दिलाउने काम सात सालको क्रान्तिले गरेको हो । मुलुकलाई आधुनिक युगमा प्रवेश गराउने ढोका पनि यही क्रान्तिले खोलेकोे हो, शायद सात सालको क्रान्तिले उपलब्धि हासिल नगरेको भए मुलुक अझै धेरै वर्ष पछाडि धकेलिन्थ्यो ।’

विसं २०२४ देखि तत्काल कम्युनिष्ट पार्टीमा आबद्ध भएर नेकपा(पुष्पलाल)मा सङ्गठित भएका घिमिरे प्रहरीको पक्राउ सूचीमा परेपछि ज्वाला उपनामले भूमिगत भएका थिए । बुटवल आएपछि २०४६ सालको आन्दोलनमा प्रहरीले पक्राउ गरी निकै यातना दिएको उनलाई स्मरण छ । ‘प्रहरीको कुटाइले मेरो खुट्टा भाँचियो तर मैले हरेश खाइन, केही समयपछि निरङ्कुश राजतन्त्रको खुट्टा भाँचिदा सन्तोषको श्वास फेरेँ ’, घिमिरे भन्छन्, ‘त्यतिबेला जनताको जीत भएको थियो ।’ विसं २०४६ चैत २४ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर उनको खुट्टा नचल्ने नै भयो । त्यसपछिका उनका दिनहरु वैशाखीका भरमा बितेका छन् ।

‘जीवन लामो छैन, त्यसैले गर्नु छ भने छिटो काम गर्नुपर्छ । लामो निरङ्कुशताको लडाइँमा जीवनभर लागियो । जीवन सङ्घर्ष हो, सङ्घर्षै सङ्घर्षको महानदीमा हेलिएर आज यहाँसम्म आइपुगियो तर पनि कुनै पश्चाताप, पूर्वाग्रह र खिन्नता छैन,’ घिमिरे भन्छन्, ‘हामीले लडाइँमा ठूलै उपलब्धि हासिल गर्यौं। यसलाई संस्थागत गर्न सकियो भने अब नेपालमा पुनः राजनीतिक क्रान्ति गर्नु नपर्ला, अब हामी समृद्धिको बाटोमा नअल्मलिईकन लाग्नुपर्छ ।’

राजनीतिक नेताको आश्रयस्थलका रुपमा रहेको आफ्ना घरमा मदन भण्डारीलगायत देशमै लब्धप्रतिष्ठित व्यक्तिहरू बस्ने गरेको घिमिरे बताउँछन् । ‘पार्टी कार्यकर्तामा विगतको जस्तो निष्ठा र समर्पण छैन । विगतका नेताहरूमा जस्तो व्यवहार अहिलेका नेताहरूमा देख्न सकिएन । विगतको जस्तो सरल दिनचर्या रहेन । पार्टीमा नयाँ वर्ग जन्मियो । त्यसले नेता र कार्यकर्ताबीचमा पर्खाल खडा गरिदियो । यो नै अहिलेको चिन्ता हो । यसले प्रजातन्त्रको कद घटाउने काम गरेको छ’, घिमिरे भन्छन् ।

प्रजातन्त्रका आदर्श र मान्यतानुरूपको शासन सञ्चालन गर्ने र लोकतान्त्रिक अधिकार खुलेर जनताले प्रयोग गर्न पाउने वातावरण बन्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘वास्तविक लोकतन्त्रको प्रत्याभूति हुने गरी देशमा सुशासन र समृद्धि सुनिश्चित हुनु जरुरी छ ।’ सात सालको क्रान्तिलाई नजीकबाट नियाल्नुभएका अर्घाखांँची, मरेङ्गका ९५ वर्षीय दीनानाथ आचार्य पनि यो क्रान्तिलाई मुलुक परिवर्तनको सवैभन्दा महत्वपूर्ण घटना ठान्छन् ।

पछि भएका क्रान्ति महत्वपूर्ण भए पनि सात सालले एउटा युगको अन्त्य गरेर अर्को युग शुरु गरेको उनको निष्कर्ष छ । वास्तवमा २००७ सालको क्रान्ति मुलुक परिवर्तनको एउटा महत्वपूर्ण परिघटना हो तर आधुनिक समाजले सात सालको त्यस ऐतिहासिक क्रान्ति र त्यसका प्रभावलाई बिर्सन थालेको छ । सरकारले पनि औपचारिकतामा मात्र केन्द्रित गर्दा यो दिन इतिहासकै पानाबाट हराउने हो कि भन्ने चिन्ता पुरानो पुस्तामा छ । –राससकी निरा गौतमले गत वर्ष तयार गरेको सामग्री

पछिल्लो अपडेट