ताजा अपडेट »

जैविक विविधतायुक्त टरुवा ताल संरक्षण शुरु, सात करोड बजेट

विहीबार, ०६ फागुन २०७७, १७ : ५०
8 Shares

कावासोती। कावासोती नगरपालिकास्थित टरुवा ताल संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्यको थालनी गरिएको छ । नवलपरासी पूर्व (नवलपुर) कावासोती नगरपालिका वडा नम्बर ७ र ८ अन्तर्गत पर्ने टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटर पर्यटकीय विकास कार्यक्रम गरिने भएको हो।

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवातालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकासगर्न सात करोड रुपियाँको लागतमा कार्यक्रम गरिने भएको छ । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत सात करोड रुपियाँ बराबरको काम गर्न लागिएको हो । नगरकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावना बोकेको टरुवा ताल आसपासका क्षेत्रको आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको थियो । तालको सरसफाईलगायतको काम नहुँदा अहिले झारले ढाकेको छ ।

मन्त्रालय र नगरपालिका बीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाको रुपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले जानकारी दिए । उनका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको चार करोड ५५ लाख र कावासोती नगरपालिकाको दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताए।

बाह्रै महिना पानी नसुक्ने यस तालको आसपासमा पानीका मूल फुट्ने गर्दछ । स्थानीय भाषामा (चुहाडी ) भनिन्छ । यहाँको पानी अझै पनि स्थानीय बासिन्दाले पिउँदै आएका छन् । कावासोतीमा खानेपानी योजना सुरु नहुँदा दुुई किलोमिटर सम्मका स्थानीयले यसै चुहाडीबाट पानी पिउने गरेको यहाँका पाका पुस्ता बताउँछन् । सिमसार क्षेत्रका रुपमा रहेको यस तालमा विभिन्न चराचुरुङ्गी देख्न सकिन्छ ।

टरुवा ताल र आसपासको क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगर प्रमुख पुनले बताए । पर्यटकीय सम्भावना बोकेको कावासोती नगरपालिकाको धेरै यस्ता क्षेत्रहरु आझेलमा पर्दै आएकाले नगरपालिकाले अब यस्ता क्षेत्रको विकास गर्न लागि परेको उनले बताए । टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि धेरै बजेट विनियोजन भएको यो पहिलो पटक रहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए। टरुवा ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने नगरको पहिलेकै योजना रहेको र सोही अनुसार गुरुयोजना समेत तयार गरि सकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने पुरीले बताए । पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाको रुपमा विकास हुने उनको भनाइ छ ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।