ताजा अपडेट »

तिलामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

विहीबार, ०६ फागुन २०७७, १४ : ०७
8 Shares

खलङ्गा । जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बुधबारदेखि आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिबद्र्धक च्यवनप्रास प्रदान गरेर शिविर आरम्भ भएको थियो । पिछडिएका नागरिकका लागि सो शिविर निकै उपलब्धिपूर्ण भएको जनाउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताका लागि यसबाट राहत मिलेको बताए ।

तातोपानी, हिमा र गुठिचौरसम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा स्थानीयवासी उत्साहपूर्वक सहभागी भएको बताए । उनले भने, “यहाँका नागरिकलाई एक वर्षमा एक पटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ तर यस पटक जनताले गाउँमै स्वास्थ्य सेवा पाए । यो निःशुल्क शिविरले निकै राहत मिल्यो ।”

स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले शिविरमा प्रायः सबै रोगको जाँच गरिएको बताए ।उनका अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपूर्वक सहभागिता रह्यो ।

शिविरमा स्वास्थ्य अवस्थाको पहिचान हुनाका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधिसमेत बिरामीलाई उपलब्ध गराइएको थियो । आचार्यका अनुसार शिविरमा ग्याष्ट्रिक, अल्सर, मधुमेह, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथ, पेट, खोकी र श्वासप्रश्वासलगायत रोगको उपचार गरिएको बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस