ताजा अपडेट »

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

विहीबार, ०६ फागुन २०७७, १२ : २३
8 Shares

बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।

दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिए । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उनले बताए ।

यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिए । उनले भने, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उनले बताए। उनले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको जानकार दिए । यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् ।

रासस
लेखकको बारेमा
रासस