ताजा अपडेट »

पर्यटन ब्यवसायीद्वारा नेपाल भारत सीमा आधा घण्टा ठप्प

विहीबार, ०६ फागुन २०७७, १० : ५४
24 Shares

भैरहवा । नेपालकै दोश्रो ठूलो बेलहिया नाका होटल तथा पर्यटन ब्यवसायीले आधा घण्टा ठप्प पारेका छन् । सरकारले उनिहरुको माग सुनुनाई नगरे अबको ४ दिन पछि सीमामै धर्ना बस्ने र सबै आयात निर्यात ठप्प पार्ने ब्यवसायीले चुनौती दिएका छन् ।

सरकारको गलत नितिको कारण आफुहरुको रोजीरोटी गुमेकोले बाध्य भएर सीमामा प्रर्दशन गर्नु परेको उनिहरुको भनाई छ । १ बर्ष देखी बन्द रहेको सीमा सरकारले अहिले सम्म नखोलेकोले यस क्षेत्रको पर्यटन र यस संग सम्बन्धित ब्यवसाय धराशायी बनेको ब्यवसायीहरुको गुनासो छ । भारत र नेपालको नाका पहिले जस्तै सुचारु गर्नु पर्ने माग सहित पर्यटन, होटल, ट्राभल्स तथा टुर्स ब्यवसायीहरु आन्दोलित भएका छन् । आज आन्दोलनको तेश्रो दिन उनिहरुले बेलहियामा मैनबत्ति जुलुस निकालेका छन् । र्याली निकाल्ने क्रममा नै अन्र्तराष्ट्रिय सीमा नाका आधा घण्टा जति प्रभावित बनेका थियो ।

“सरकारले नाका खुल्यो भनेको छ, तर सीमामा त्यस्तो छैन भारतीय नम्बर प्लेटका साना गाडीहरु आउन दिएको छैन यसले भारतीय पर्यटकहरु नेपाल आउन सकिरहेका छैनन् ।” लुम्बिनी होटल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्द ज्ञवालीलले भने । पर्यटकहरु सुनौली आएर सीमा नखुलेको कारण फर्किने गरेको उनले गुनासो गरे । यसले लुम्बिनी क्षेत्रका होटलहरु सबै भन्दा बढी प्रभावित भएको र करोडौको नोक्सानी ब्यहोर्नु परेको ज्ञवालीको दावी छ ।

नेपालमा ९० प्रतिशत पर्यटकहरु भारतीय हुने गरेको पर्यटन ब्यवसायीको भनाई छ । नेपाल तर्फ उनिहरुको गाडी आउन नदिए पछि अहिले बाध्य भएर भारतीयहरु भारत तर्फकै बिभिन्न गन्तब्यमा पुग्ने गरेको उनिहरुको भनाई छ । “कोरोना खुकुलो भए संगै भारतीयहरु नेपाल आउन लालयित रहेका छन्, सरकारले भने सीमा नाका थुनेर बसेको छ ।” सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भने ।

सरकारले नाका खुलेको बताए पनि यहाँबाट मुलुक प्रवेश पाउन ७२ घण्टाभित्र कोरोनाको पीसीआर परीक्षण गरिएको रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान यथावत छ । तर औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट दैनिक सयौं मलवाहक भारतीय गाडी र गाडीका स्टाफ, कामदार, सर्वसाधारण भने बिनापरीक्षण आइरहेका छन् । कोरोनाका कारण नाका सिल गरिएपछि थला परेको नेपालको पर्यटन क्षेत्र अहिले पनि उस्तै अवस्थामा छ ।

सीमाबाट पर्यटक वाहन र भारतीय पर्यटकले आफ्नो निजी सवारी साधन लिएर नेपाल आउन पाउने पहिलाकै जस्तो प्रावधान लागू नगरिएसम्म नेपालको पर्यटन व्यवसायले गति लिन नसक्ने होटल व्यवसायीको श्रेष्ठको भनाई छ । यस नाकाबाट नेपाल भित्रिने भारतीइ पर्यटकको मूख्य गन्तब्य लुम्बिनी, पोखरा, काठमाडौं, चितवन सौराहा, पशुपतिनाथ, मुक्तिनाथ जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेका छन् ।

कोरोना अघि बेलहियामा तेश्रो देशका पर्यटकहरुको पर्यटक बस बाहेक भारतीय गाडीहरुको लाम लाग्ने गरेको थियो । अहिले यहा ब्यवसायीक मालवाहक ट्रकहरु बाहेक अन्य कुनै पनि साधन आवत जावतमा रोक लगाईएको छ । यसले नाकाले अहिले पनि कोरोना अवश्थाकै झल्को दिई रहेको छ ।

सीमा नाका पहिलोको जस्तै खुलाएर यस क्षेत्रका ब्यवसायीलाई पलायन हुनबाट जोगाउन भन्दै ब्यवसायी आन्दोलनमा उत्रेका छन् । एक साताको अल्टिमेटम दिएर आन्दोलनरत उनिहरुको आन्दोलन ३ दिन पार गरेको छ । “अब ४ दिन भित्र पनि माग पुरा गरि सीमा नखोले शान्तीद्वारमै धर्ना बसी आयात निर्यात ठप्प पार्ने छौ ।” सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमयले भने ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा