ताजा अपडेट »

२५८ मुद्दा फैसला

बुधबार, ०५ फागुन २०७७, १२ : ५२
12 Shares

तनहुँ । जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आवमा ४५० मुद्दा रहेको छ भने २५८ मुद्दा फैसला भएको हो ।

सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३१३ मुद्दा दर्ता भएकामा चालू आवमा ११४ वटा रहेको छ भने १९९ वटा फैसला भइसकेको सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिए ।

सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्र माध्यमबाट फैसला गरिएको उनले बताए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् । उनले भने, “तर मिलापत्रका लागि एक वर्ष अवधि पूरा भएको हुनुपर्ने कानूनी व्यवस्थामा उल्लेख गरेको छ ।”

त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ । त्यसैगरी लागुऔषध मुद्दामा २३ दर्ता भएकामा चालू आवमा २० वटा रहेको छ भने तीनटा फैसला, घरेलु हिंसामा दश मुद्दा दर्ता भएकामा चालू आवमा नौवटा रहेको छ भने एक फैसला भएको छ । सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आवमा १५ वटा मुद्दा रहेको र एकवटा मुद्दा फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

फरार युवाको खोजी जारी

इलाका प्रहरी कार्यालय बेलचौतारामा कार्यरत प्रहरी टोलीले माघ १८ गते दुई युवकलाई पक्राउ गर्याे । कारण थियो, उनीहरुका साथमा साढे तीन किलोग्राम गाँजा भेटियो । यसरी पक्राउ पर्नेमा पोखरा–२६ स्थित जलधारे निवासी १७ वर्षीय सुमन विक र २१ वर्षीय विवेक रावत थिए । पक्राउपश्चात् प्रहरीले अनुसन्धान थाल्यो र त्यसपछि तनहुँ जिल्ला अदालतमा पेश गर्न प्रक्रिया अघि बढाइयो । अदालत लैजानुपूर्व कोरोना पोजेटिभ भए नभएको जाँच्न पिसिआर परीक्षण गर्न माघ २० गते हत्कडी लगाएर पोखरास्थित गण्डकी अस्पतालमा पुर्याइएको थियो ।

पिसिआर परीक्षण गरेर तनहुँ फर्कंदै गर्दा पोखरास्थित चाउथेमा आइपुगेपछि गुडिरहेको गाडीबाट दुवैजना प्रहरीलाई धकेलेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । फरार युवकको खोजी भइरहेको उनले बताए ।

उनले भने, “अब छिट्टै उनीहरु पक्राउ पर्नेछन् ।” प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग सो घटनाबारे जानकारी लिन खोज्दा त्यसबारेमा थाहा पाएपनि यथार्थ बुझ्न बाँकी रहेको बताए । घटना हुँदाको समयमा जानकारी पाएको थिएँ । उनले भने, “कार्यालयको कामको व्यस्तताले गर्दा प्रहरीसँग बुझ्न र अपडेट हुन बाँकी नै छ ।”

रासस
लेखकको बारेमा
रासस