ताजा अपडेट »

तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल : उपाधि भिडन्त आज

बुधबार, ०५ फागुन २०७७, १२ : ०७
6 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लागि आज प्रतिस्पर्धा हुदै छ । गत माघ २४ गतेदेखि जारी प्रतियोगिताको उपाधिका लागि खनाल ब्रदर्श र फर्साटिकर युवा क्लब भिड्दै छन् ।

विभिन्न जिल्लाका १२ समूहको सहभागिता रहेको प्रतियोगितामा समूह चरणका खेलमा विजयी हुँदै खनाल र फर्साटिकर फाइनल प्रवेश गरेका हुन् । सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगितामा खनालले फुलबारी गाइजलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो भने फर्साटिकरले विश्वशान्ती युवाक्लबलाई पराजीत गरेको थियो । सैनामैना-७ सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल दिउसो २ बजेदेखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाउनु पर्ने छ । सेमिफाइनलमा हारसँगै फुलबारी गाइज र विश्वशान्ति युवा क्लबले नगद २०/२० हजारमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार राशी प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर र उत्कृष्ट प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक चित्रबहादुर थापाले जानकारी दिए । यसैगरी हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद २ हजार पुरस्कार राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

खेलको माध्यमबाट सैनामैनाको विकास तथा खेल प्रवर्द्धनका लागि सैनामैना नगरपालिकाको ७ लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगिताका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने अन्य खर्च व्यवस्थापक क्लबले प्रायोजन संस्था तथा दर्शकहरुबाट उठाइएको प्रवेश शुल्कबाट व्यवस्था गरिने आयोजकले जनाएको छ । १६ हजार बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको प्रतियोगिताको हालसम्म लक्ष्यभन्दा बढी २० हजार बढीले अवलोकन गरिसकेको खेल संयोजक थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।