July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

आमा

1.5K

बिहानै उठ्दा चिया बेडमा आएन भनेर रिसाउने म,बेडमा पुगेको चियालाई चिनी कम भनेर दोष लगाउने म… मैलिएका कपडा किन धोइएनन् भन्दै झगडा गर्ने पनि म । खाना पाक्दै गर्दा किन ढिला भन्दै सताउने र पाकेको खानालाई अनेक दोष लगाउँदै नमिठोको नाम दिने पनि मैं । भान्सामा जथाभावी भाँडाकुँडा फालिदिएर ब्यवस्थित सजावट खोज्ने पनि मैं !! आफ्नो शरीरमा लगाइएका कपडा यत्रतत्र कोठामा फाल्दै सफासुग्घर र सुन्दर सजावटयुक्त कोठा चाहने पनि मैं , म कति अबुझ,कति सतास !!! आमाले मिलाउन सक्ने आधाउधी बन्दोबस्ती मैले मिलाउन सक्दिनथें ?

भान्साका भाँडा–वर्तन र रुममा रहेका अव्यवस्थित कपडाहरु मैले ब्यवस्थित तुल्याउन हुन्थेन ? मैले प्रहार गर्ने रीसका लोलाहरु कति सजिलै थापिदिन्छिन् आमा !! म तिनै आमाको ठाउँमा रहेर उनको जिम्मेवारीको कल्पना गर्न सक्दिनथें ? कति सहनशील छिन् आमा , कति स्नेहकी गोदाम छिन् आमा !!! मैले दिएका हरेक अप्ठ्याराहरुलाई सहजै स्वीकारी दिन्छिन् आमा । एक आज्ञाकारी सेवकले जसरी,साँच्चिकै मैले मेरी आमालाई नै सेवक बनाएको रहेछु ।

महिनामा तीन दिन भान्छा पस्न नहुँदाको भान्छाको कुरुपता देखेर मैले आमाको जिम्मेवारी किन बुझिन ? चूलो चौको, घाँस दाउरा, मेलापात, सबै चिज एक्लैले भ्याएको देख्ने मेरा आँखामा वास्तविकता किन छिरेन ? देवी समान होइनन् आमा, देवीलाई आमाको दर्जा दिनै सक्दिन म ! आमा सन्तानको लागि हरचिज हुन् । आमा जत्तिको सहनशील यो सन्सारमा अरु कोही छैन । आमा मैनबत्ती हुन्, जो आफू जलेर सन्तानको निम्ति निरन्तर प्रकाश छर्ने कोशिश गरिरहेकी हुन्छिन् ।

कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झेर मन रुन्छ। बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु झर्छ । नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु झर्छन्। त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो । एक विश्वचर्चित व्यक्ति एवम् अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन् ’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन । आमा प्रेम र विश्वासको बास्केट हो,एउटा सन्तानको लागि ।

एउटा भनाइ छ, ’प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन।’ आमाबाट हिंसा हुने कुरा कल्पना बाहिर हुन्छ । साँच्चै भन्ने हो भने आमा छोडेर कतै गएमा एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ ।आमा संसार हो। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन। आमा सन्तानको ढुकढुकी हो। बालबालिकाको आशा र भरोसा हो। अनि समाजको गहना हो। आमा-बिनाको परिवार खल्लो हुन्छ। आमाको बारेमा शब्दमा भूमिका बाँधेर केही लेखेरमात्र पुग्दैन । यसको वर्णन गरी साध्य छैन।

आमाबिनाको जीवन पानीबिनाको माछा जस्तै हुन्छ । जहाँ आमा, त्यहाँमात्र राम्रो सपना देख्न सकिन्छ । आमाबिनाको जीवन मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन् । आमाको बारेमा मातातीर्थ औंसीको दिनमात्र गुणगान गाएर आमाको भलो हुँदैन। आमालाई हेला गर्ने सन्तानलाई कुनै न कुनै समयमा नराम्रो आइलाग्छ । आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो। जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ। आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ। आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्तव्यप्रति कसैको गुनासो रहँदैन। आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन्।

कैयौं पीडा सहेर जन्मदिने भनेकै आमाले हो। आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुकाउने पनि आमाले हो। सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा नै हो। पिठ्यूँमा घाँसपातको भारी अनि भारीमाथि नानी–बाबुलाई बोकेर घर–गोठ गराउने पनि आमा नै हुन्। बालकको चौतर्फी विकासको विषयमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्गपनि आमा नै हो। आमालाई जवानीमा त्यति धेरै माया दिने नदिने सन्तानको कुरा हो तर साथ दिनु पर्दछ ।

जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेर–विचार एवम् स्याहार सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन । भनाई छ, अरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ। संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवम् काखका को–को–हो–लो गर्दा हुन्छ । आमाले यस संसारमा जन्म दिनुभएको छ । त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन । आमा जीवनको ज्योति हो।

मायाको सागर हो । जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हो । तसर्थ हिजोका दिनमा स्याहार गर्दा–गर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ। पूर्ण रेख–देख एवम् लालन–पालन गर्ने काम सन्तानको हो ।तसर्थ सबै सन्तानले आफ्ना जीवनदातालाई उच्च सम्मान एवम् रेख–देखका साथ पालन–पोषण गर्न कम्मर कसेर लाग्नु पर्दछ।

पछिल्लो अपडेट