ताजा अपडेट »

प्रदेशकै उत्कृष्ट बन्दै भिम अस्पताल

मंगलबार, ०४ फागुन २०७७, १७ : ०६
6 Shares

भैरहवा । यस अघि नै अब्बल सेवा दिदै आएको भैरहवा स्थित भिम अस्पताल प्रदेशकै उत्कृष्ट जिल्ला सरकारी अस्पताल बन्ने तयारीमा रहेको छ । सामाजिक सेवा गर्दै आएको लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भिम अस्पताललाई अत्याधुनिक सेवा र सुविधा सहितको भवन हस्ताण्तरण गर्ने तयारी संगै भिम अस्पतालको सेवा अझ प्रभावकारी हुने भएको हो ।

भैरहवाबाट नै ब्यवसायिक जिवन सुरु गरेको लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामै पनि थुपैै्र सामाजिक कार्य गरेको छ । त्यसैमध्येको एक हो भैरहवामा निर्माण भएको भिम अस्पतालको आकस्मिक भवन । विपन्न परिवारहरु दुर्घटना लगायत अन्य कारणले अकालमै मृत्यु नहोस भन्ने उद्देश्यले प्रतिष्ठानले भिम अस्पताल परिसरमा आधुनिक सुविधा सहित दुई तल्ले आकस्मिक भवन निर्माण गरि दिएको छ । भवनमा कतिपय निजि अस्पतालहरुमा नभएको सुविधा पनि रहेको अस्पताल प्रशासनको भनाई छ । साढे ३ करोड बढी लागतमा तयार भएको भवनमा आकस्मिक सेवा साथै भेन्टिलेटर सहित आईसियु कक्ष समेत रहेको छ । प्रतिष्ठानले वाचा गरे भन्दा पनि राम्रा र अत्याधुनिक उपकरण प्रदान गरेको जिल्ला समन्वय समितिका सभापति तथा भिम अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एकराज विश्वकर्माले बताए ।

प्रतिष्ठानले सुदिप निर्माण सेवालाई ठेक्कामा दिएको थियो । १ करोड ७० लाख लागतमा भवन, १ करोड ५० लाखको सामाग्री र ३० लाखको लिफ्टसहित अहिले सम्म ३ करोड ५० लाख भवनमा खर्च निकासा भएको छ । सम्पन्न भएको भवनको पहिलो भुई तल्लामा अति गम्भिर खालका बिरामीहरुका लागी २४ घण्टे आकस्मिक सेवा प्रदान गरिने छ । भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताका अनुसार भुई तल्लामै प्रकोप ब्यवस्थापन कोठा पनि रहेको छ । अहिले कोरोनाबाट पाठ सिक्दै बिभिन्न प्रकोपजन्य रोगहरुको ब्यवस्थापनको अग्रिम तयारी गरिएको उनले बताईन । यस्तै भुई तल्लामै साधारण अपरेशन कक्ष, आईसोलेसन, ड्युटिरुम र युटिलिटि रुम रहेको छ ।

पहिलो तल्लामा २ वटा अत्याधुनिक भेन्टिलेटर सुविधा सहितको ४ शैयाको आईसियु कक्ष, महिला र पुरुषहरुको लागी ५/५ वटा अलग अलग शैया, प्रतिक्षा केन्द्र लगायत संरचना तयार भएको छ । अस्तलमा आकस्मिक सेवा राम्रो होस भन्ने उद्देश्यले नै दाताले यो भवन निर्माण गरेर दिएकोले सोही अनुसार प्रयोग गरिने मेसु गुप्ताले जानकारी दिईन । केही दिन भित्रै हस्तान्तरण गर्ने तयारी रहेको उक्त भवनमा लिफ्ट समेत जडान गरिने भएको छ । सुरुमा र्याम्प बनाउने भनिए पनि बनाउने स्थान नभएकोले प्रतिष्ठानले नै लिफ्ट बनाईदिने भएको हो । यसको लागी ३० लाख रुपैया समेत निकासा भएको निर्माण कम्पनीले जानकारी दिएको छ । यस संगै प्रतिष्ठानले अस्पताल परिसरमा अत्याधुनिक सुविधा सहितको पोष्टमार्टम गृह र मोर्चरी पनि बनाउने आश्वसन दिएको भिम अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एकराज विश्वकर्माले बताए ।

भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले बताईन । १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैया र हाल ५० शैयाको स्वीकृती पाएको छ । हाल ५० शैयाको स्वीकृति रहे पनि अस्पतालमा १ सय शैयाको बिरामीले सेवा लिई रहेको अस्पताल प्रशासनको भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा