ताजा अपडेट »

विद्या, बुद्धि र ज्ञानको कामना गरेर यसरी गरिन्छ सरस्वती पूजा

मंगलबार, ०४ फागुन २०७७, ०९ : २७
124 Shares

नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वहरू मध्ये वसन्त पञ्चमी पनि नेपालीहरूको महत्त्वपूर्ण पर्व हो । माघ शुक्ल पचमीमा हिन्दुहरूले मनाउने पर्वलाई वसन्त पञ्चमी,श्री पञ्चमी  र सरस्वती पूजा पनि भन्ने गरेको  पाईन्छ । विशेष गरेर विद्यालयमा  वा घरमै पनि विद्यार्थीले विद्या, बुद्धि, ज्ञान र वाणीकी अधिष्ठात्री देबी सरस्वती पूजा उत्साह र उमंग पुर्वक  धुमधामसँग मनाउने गर्छन् ।  विद्यार्थीहरूले बिहानै स्नान गरि स्वच्छ र पबित्र भई विभिन्न संस्कृत श्वोकहरूको बाचन गर्दै सरस्वतीको तस्बिर, मुर्ति या पुस्तकमा वग्देवीको प्रतीक मानेर पूजा गर्ने चलन छ। सरस्वतीको पूजा गर्दा जौ,तिल र सेताफूलहरू उपयुक्त मानिन्छ । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा, बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा पनि  मनाउने गरिन्छ ।

केही वर्षयता अन्य धर्म मान्ने समुदाय जस्तै बुद्धिष्ट, जैनजस्ता धर्म सम्प्रदायले मनाउने गरेको देखिन्छ । यस चाडलाई हिन्दु र बौद्ध धर्मावलम्बीको संयुक्त चाड भन्ने गरिन्छ । बौद्ध धर्मावलम्बीले सरस्वतीलाई ज्ञानको प्रतीक मानेर बोधिसत्व मञ्जुश्रीका रूपमा पूजाआजा गर्छन् । नेपाल चीनलगायतका देशमा सरस्वतीलाई मञ्जुश्रीको नामले पूजा गर्ने गर्दछन् ।

 पौराणिक आख्यान अनुसार ऋतुहरूले  ऋतु राज वसन्तको सम्मानमा अरू वाकी पाँच ऋतुहरूले आफ्ना कार्यवधिका आठ-आठ दिन भेटी स्वरूप वसन्त ऋतुलाई चढाएका थिए यसै कारण वसन्त पञ्चमी चैत्र महिनाको कृष्ण पक्षको प्रतिपदामा नमनाई सो भन्दा चालीस दिन पहिले अर्थात माघ शुक्ल पञ्चमीका दिन मनाउने गरिएको हो भन्ने  मान्यता पनि छ ।

सेतो हाँसमा बसेकी, वीणा र पुस्तक हातमा लिएकी, हेर्दा सुन्दर देखिने, बली नलिने, कलामा निपूर्ण, सेतो सारीमा सजिएकी विद्याकीखानी, माला धारण गरेकी, पद्मासनमा बसेकी सरस्वतीले श्रीपञ्चमीका दिन पृथ्वीमा आउने र विद्यार्थीलगायत कला सिक्न चाहनेको गला र जिब्रोमा बसेर सहयोग गर्छिन् । भन्ने जनविश्वास छ । भारती, सरस्वती, शारदा,जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी,कामधेनु आदि हजारौँ नाममा सरस्वतीलाई पुकार्नेगरिन्छ ।

मानिसको हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास भएको मानिन्छ । यस कर्मवादी हातलाई ब्रह्माको सिर्जनशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्पराअनुसार प्रत्येक दिन प्रभातकालीन समयमा
“कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।  
करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम् ।।”

भन्दै सरस्वतीसहित लक्ष्मी र ब्रह्माजीलाई स्मरण गरिन्छ । राजहाँसमा सवार भएकी सरस्वतीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रले सजिएर सधैँ मुस्कुराइरहने सरस्वतीले सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्ने विश्वास गरिन्छ ।

वर्षभरिमा पञ्चमी धेरै आउँछन् । तर, चार पञ्चमीको महत्त्व  विषेश रहेको छ । नाग पञ्चमी,ऋषि पञ्चमी, विवाह पञ्चमी, वसन्त पञ्चमी वा श्री पञ्चमी । जसमध्ये श्रीपञ्चमीको महत्त्व अझ धेरै रहेको छ । संसारमा सबैभन्दा ठूलो धन विद्याकी खानी भगवती सरस्वतीको विशेष पर्व पूजा गर्ने दिन भएको हुनाले यस दिनको महत्त्व धेरै छ । अन्य पञ्चमीमा श्री जोडिँदैन तर वसन्त पञ्चमीमा भने श्री जोडिनु सरस्तीलाई सम्मान गरेर पद दिइएको हो । श्रीशब्दले ऐश्वर्य, मान, सम्मान, मङ्गल, आदि भाव बुझाउँछ ।

वसन्त पञ्चमीको दिन सरस्वतीको आरधना गर्नु भनेको बिद्या रूपी धनको खोजी गर्नु हो । विद्यार्थीले सरस्वतीको पूजा भनेकै अध्ययन हो भन्ने कुरा बुझ्न आवश्यक छ । सदा पबित्र भावले अध्यनमा लागेर नयाँ नयाँ ज्ञान र सीपको अभिवृद्धिमा लाग्न सकेमा सरस्वती पूजाआजा गर्नुको अर्थ सिद्ध हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।