March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

लुम्बिनी प्रदेशको स्थापना दिवस : पूर्वाधार विकास प्राधिकरण उद्घाटन

363

दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गरेका छन् । प्रदेश स्थायी राजधानी दाङको देउखुरीमा स्थायी राजधानीको संरचना निर्माण गर्ने गरी स्थापना भएको पूर्वाधार विकास प्राधिकरण कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालयले पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेशसभा अन्तरगतका प्रशासनिक कार्यालयहरुको पूर्वाधार बनाउने भएको छ । दुई वर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानीसँग जोडिएका प्रशासनिक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना बनाएको छ । राप्ती प्राविधिक शिक्षालयलाई गोवरडिहामा स्थानान्तरण गरिएको र त्यहाँ नमुना शिक्षालयको रुपमा अघि बढाइने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए । प्रदेश स्थापना दिवसमा मूल समारोह राप्ती उपत्यका देउखुरीमा राखेर राजधानी कार्यान्वयनको लागि प्रदेश सरकारले अनुकरणीय कार्य गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । राजधानी भएपछि यहाँका स्थानीयहरु खुसीले हर्षित भएका छन् । ‘अब जनसरोकारका कार्यालय पनि बिस्तारै आउने आशा गरेका छौं’–सुवेदीले भने, ‘अब राजधानी व्यवस्थापनको कामले गति लिने आशा गरेका छौं ।’ प्रदेश स्थापना दिवसको अवसरमा थारु, मगर र अन्य संस्कृति सँग जोडिएका झाँकी प्रस्तुत गरिएको थियो ।

यस्तै प्रदेश सरकारले स्थापना दिवसको अवसरमा फागुन ३ गते सोमबार सार्वजनिक विदासमेत दिएको थियो । त्यसैगरी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ ।

पछिल्लो अपडेट