ताजा अपडेट »

पत्रकार महासङ्घ प्रत्यक्ष निर्वाचनको तयारीमा

सोमबार, ०३ फागुन २०७७, १२ : ५३
2 Shares

काठमाडौँ ।नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् ।

महासङ्घको उपत्यका प्रदेश कमिटीले आईतबार आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक सङ्घीयतामा गएसँगै आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि सङ्गठनमा उठाइएको प्रत्यक्ष निर्वाचनको मुद्धा सम्बोधन भएको बताए । महासङ्घ केन्द्रको वार्षिक साधारणसभा भने यही फागुन ४ र ५ गते हुँदैछ । अध्यक्ष आचार्यले समानुपातिक विज्ञापन, सञ्चार क्षेत्रलाई सामाजिक उद्योगको मान्यता, श्रमजीवी पत्रकारको हक अधिकार थप स्थापित गर्न सफल भइएको बताए ।

सो अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा काठमाडौँ शाखाका संस्थापक सभापति किशोर नेपाल, भक्तपुरका रमेश खड्का र ललितपुरका प्रभुनारायण बस्नेतलाई सम्मान गरियो महासङ्घका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई कसैले हनन् गर्न नहुने र यसको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताए । महासङ्घका सचिव रामप्रसाद दाहालले कोरोना महामारीका विभिन्न सञ्चार गृहमा समस्यामा पारिएका करीव ५०० श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन गरी समाधान गराइएको बताए ।

सो प्रदेश कमिटीले दिवंगत पत्रकार गोविन्द शर्मा घिमिरेका छोरी श्रेया घिमिरेलाई छात्रवृत्तिस्वरुप रु २० हजारको चेक पनि आज हस्तान्तरण गरेको छ । प्रदेश कमिटीका अध्यक्ष एनके दाहालले आफ्नो पहलमा ११९ जना पत्रकारको कोरोना बीमा गराइएकामा संक्रमितमध्येले बीमा रकम पाउन थालेको जानकारी दिए । महासङ्घको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुङ्गानाले प्रदेश संरचना बनाइए पनि महासङ्घ केन्द्रले आफूहरुले साङ्गठनिक तथा आर्थिक अधिकार उपयोग गर्न नपाएको गुनासो गरे । महासङ्घको काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विडारीले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमका हकहितका लागि आफूहरुले कार्य गर्दै आएको बताए ।

रासस
लेखकको बारेमा
रासस