ताजा अपडेट »

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

सोमबार, ०३ फागुन २०७७, १० : ३३
2 Shares

म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ । जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ । सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ ।

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताए । “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ”, उनले भने, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन । फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ ।”

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो । गाउँपालिकाले रु २२ लाखमा खरिद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ ।

गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक रु चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम रु ५० देखि रु एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शूल्क तोकिएको छ ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो । संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ । दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ । लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन ।

फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो । सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताए ।

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ” उनले भने, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ ।” मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस