ताजा अपडेट »

अभागी म...

आइतबार, ०२ फागुन २०७७, २१ : ३०
86 Shares


आज फेब्रुअरी चौध । प्रेम र प्रेम विवाह प्रोत्साहन गरी राजाज्ञा अवज्ञा गरेको आरोपमा तत्कालिन रोमन सम्राट क्लाउडियस द्धितियले पादरी सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएका दिन । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरी को सम्झनामा मनाइने यो प्रिय दिन,पल । इशापूर्व २७० को फेब्रुअरी १४ देखि विश्वका प्रेमजोडीहरुले अनवरत रुपमा मनाउँदै आएको यो विशेष दिन ।
यस्तो महान दिनमा किन मलाई अभागी अनुभूति भइरहेको छ त ? किन मेरो मोबाइल फोनले आराम पाएको छ ?

न कसैको फोन । न कसैको म्यासेज । बेटारी डाउन हो कि भनेर मोबाइल फोनतर्फ यसो नजर लगाएँ । हैन । नेटवर्क गएछ कि भनेर हेर्दा ठीकै छ । व्यालेन्स सकिएर त फोन नजाने हो । आउनका लागि त सारै न्यून मात्रै पैसा भएपनि भइहाल्छ । तै त्यहीपनि पैसा शून्य भएछकि भन्ने लागेर व्यालेन्स हेरेँ । केही रुपैयाँ बाँकी नै रहेछ । आखिर किन सबैले माया मारेका हुन् त ?अन्य दिनमा फोन, म्यासेज आइरहने । उठाउदिन भन्दा पनि पटक–पटक बजेपछि उठाउनै पर्ने बाध्यता ।

वास्तवमै खाना खाने समयमा समेत न त मैले आराम पाउथे । न त त्यो फोनले नै । निदाउँदा बाहेक फोन र मेरो कान सदा सँगै रहन्थ्यौँ । तथापि आज सवेरैबाट फोन र म दुवैले साच्चै आराम गरिरहेका छौँ । यसो इन्टरनेट कनेक्सन हेरँे । त्यो पनि ठीकै चलिरहेको छ । सामाजिक सञ्जालहरु मार्फत पनि कसैको मलाई सम्झेका छैनन् । सबैबाट बिरानो, ठिङुरो हुनुपर्दा मेरो मन मस्तिष्कमा खुसी थिएन । थियो त केवल उजाड । दिक्दारी ।

खासमा मलाई किन बिर्सिएका सारा संसारले ? के म भावना शून्य प्राणी हुँ ?किन शेक्सपिएरको रोमियो हुन सकिन ?खोजिरहेको त त्यही थिएँ । तर, परिस्थितिले मलाई ओथेलो बनाइरहे झैँ लाग्यो । म प्रेमको खोजिमा थिए । संसारले त्यो बुझिराखेको थिएन । आजको दिन विश्वभरका प्रेम, पे्रमिकाले एक अर्कालाई विभिन्न तवरले फूल, उपहार आदान–प्रदान गरेर भ्यालेन्टाइन डे मनाइरहेका छन् । माया गर्नेहरुले एक–अर्कामा गुलाफ साटा–साट गरी माया अभिब्यक्त गरिराखेका छन् । सामाजिक सञ्जाल प्रेममय बनेको छ । घुम्ने स्थल, रेष्टूरेष्टमा जोडीहरुको बाक्लो जमघट छ । हिजो राति १२बजेबाट नै सामाजिक सञ्जालभर विभिन्न फोटाहरु अपलोड भइरहेका छन् । मायारुपी शब्द, भावनाहरु छरपष्ट पोखिएका छन् । विवाहित तथा प्रेममा रहेकाहरुले आफ्नो प्रेमलाई विभिन्न तरिकारले प्रष्फुटन गरिररेका छन् । –दिपक रोका

सामाजिक सञ्जालमा भावनाहरु यसरी पोखिएका छन्,‘तिम्रो बारेमा व्याख्या गर्न मसँग शब्द छैनन् । यत्ति भनौँ कि तिमी मेरो लागि संसारकै सबैभन्दा सुन्दर परी हौँ । उपहार हौ । प्रेरणाको श्रोत हौ । राजकुमारी हौ । शेक्सपिएरका सुन्दर पात्र जुलिएट तिम्रा सामु कोही हैनन् । म आफ्नो कति माया गर्छु स्वयम् मलाई नै थाहा छैन । तथापि तिम्रो बारेमा चौबिसै घण्टा सोँचमग्न छु । त्यसैले कामना गर्छु कि तिमी हिड्ने बाटोमा काँडा नभेटिउन् । तिम्रो कोमल मनमा कहिल्यै आघात् नपुगोस् । म सधैँ तिम्रो हुन सकुँ । प्रत्येक श्वास–प्रश्वासमा म उपस्थित हुन सकूँ। मेरो लागि त तिमी एक उपहार हौ । प्रेरणाको श्रोत हौ ।’ यस्ता प्रेम भावनाहरु अभिव्यक्त भएको देख्दा, पढ्दा मेरो मन झनै बेचैन भएर आएको छ । यस्ता भावानात्मक, मायालु शब्द वाणहरुले त मन नै कुँडिदै गएको छ । कता–कता लागेको छ कि आखिर किन मलाई यत्रा आधा आकाशले बिर्सेका ?म मा औधी कमी के नै थियो र ,के कमी नै छ ? र, हुनेछ ?

यस्तै गन्थन–मन्थन चल्दै गर्दा एटना मधुर आवाज मेरो कानमा परेजस्तो लाग्यो । म झलस्स व्युझिँएँ । मेरो सपना बिच्चैमा रोकियो। यसो आँखा खोलेँ । एक सुन्दर नारी टुप्लुक्क आइपुगिन् । उनी नुहाइ–धुवाइ गरेर, पूजा सम्पन्न गरीसकेर मलाई प्रसाद दिन आएकी रहेछिन् । प्रफुल्ल मुद्रामा प्रसाद दिँदै उनले भनिन्,ह्याप्पी भ्यालेन्टाइन डे हजुर ! बल्ल मलाई फेब्रुअरी चौध आएको आभाष भो । बल्ल मलाई यो दिन विशेष दिन रहेछ’ भन्ने अनुभुति भयो । र, प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा यो दिनलाई मनाउन थालिएकोमा गौरवान्वित बनायो । अझ खुसी त यसकारण भए कि त्यो विशेष दिनको पहिलो भलाकुसारीको शुरुवातउनैबाटगर्न पाएँ ।

‘भ्यालेन्टाइन डे’ मा अन्य कसैका फोन, म्यासेज नआएको कारण ठिकै ठाने । भेटेरै मायाका शब्द बिसाउने उनको चाहना रहेछ । अघिसम्म अभागी जस्तो ठानेको म एक्कासी भाग्यमानि भएको ठानँे । उनले दिएको भ्यालेन्टाइन ड ेको शुभकामनाले मेरो मनमा खुसी थप्यो । मन प्रसन्न भयो । हाम्रो वैवाहिक जीवन साच्चै खुसी रहेको आभाष भयो । हँसी–खुसी जीवन काटिरहेको पुनः एकपटक स्मरण भयो । मैले पनि उनलाई भ्यालेन्टाइन डेको असिम शुभकामना टक्राएँ । उनी हर्षीत भइन् । जुगौँ जुगसगैँ बाच्ने अनुभूति पुर्नताजगी भयो ।

म फेरी घोत्लिन थालेँ । मलाई यति माया गर्ने उनलाई यस विषेश अवसरमा केही उपहार ल्याउन नभ्याउने म पनि भुलक्कड नै रहेछु । धिक्कार लाग्यो रित्तो हात शुभकामना दिनु परेकोमा । सबैले मनाउने गरेको यो विशेष दिनमा मैले किन केही उपहार दिन सकिन ? तथापि मलाई लाग्यो कि सबैभन्दा महान उपहार त माया हो । वैवाहिक जीवनको खुसी हो । जेजस्तो आर्थिक अवस्था छ त्यसमा एडजस्ट गर्नु हो । सुन्दर परिवार हो । मायालु अभिभावक र मान्यजनहरुको काख हो । प्रिय बच्चाहरु स्नेह हो । र निष्कर्षमा जीवन नै एक उपहार हो । मेरो आदर्श यो हो कि आम मानिसहरुले जीवनलाई कसरी हेरेका हुन्छन्, त्यसको मतलव राख्नु हुँदैन । आफ्नो वैवाहिक जीवनलाई एक उपहारका रुपमा लिनु नै उत्तम हुन्छ । यसलाई हिजो र आज जस्तै सदा सकारात्मक रुपमा हेर्नु पर्छ । वैवाहिक जीवन ठेटर हैन । वास्तविकता हो । त्यसैले यसलाई दिर्घकालसम्म एक अर्काको मायामा समर्पण गरेर कायम राख्नु पर्दछ । र, अन्त्यमा उनी त मेरो एक स्निग्ध प्राणी हुन् । जीवनको आदर्श, प्रेरणा, र एक पथपर्दशक पनि । ह्याप्पी भ्यालेन्टाइन डे भनी हामी सँगै भेट्नुनै उनका लागि संसारको सबैभन्दा उच्च उपहार हो ।

भ्यालेन्टाइन डेको अधिल्लो राति मैले देखेको सपनाले मलाई अभागी सावित गर्न सकेन । आधा आकास ओगटेका आदरणीय नारीहरु मध्य मेरो जीवन साथी उनै थिइन्,जस्ले मलाई बिहानै भ्यालेन्टाइन डे को अपार शुभकामना दिइन् । मेरो वैवाहिक जीवन सुखी बनाउने विवाह बन्धनमा बाँधिएकी उनी नै मेरो भ्यालेन्टाइन डे को एक उपहार थिइन् । एक स्वर्णिम भूत, सुखी वर्तमान र सुनौलो भविष्य थिइन् ।जीवन के नै छ र ? भौतिक शरिर त विज्ञानको सिद्धान्त अनुसार क्षणिक नै हुन्छ । शास्वत सत्य त जीवनमा पाइने खुसी हो । त्यसमा पनि वैवाहिक जीवनको खुसी अझै महत्वपूर्ण रहन्छ । त्यसैले संसारका सबै जोडीहरुले यस्तो वैवाहिक सम्बन्ध बनाउँ कि त्यो सम्बन्ध जुगाधी कायम रहोस् । अन्त्यमा, विश्वभरका सबै जोडीहरुको प्रेम, वैवाहिक सम्बन्ध सधँै खुसी, सुखी र प्रेममय बनोस्,भन्ने प्रणय दिवस–२०२१ को हार्दिक शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।