ताजा अपडेट »

प्रधानमन्त्रीको भाषणकै बीच समर्थकको नारा : ‘बलात्कारीलाई फाँसी दे’

शनिबार, ०१ फागुन २०७७, २३ : ०२
4 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलमा भाषण गर्दैगर्दा बलात्कारीलाई फाँसीको माग गर्दै नारा लाग्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा आयोजना गरेको विशाल जनसभामा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘हत्यारालाई कारबाही गर’ भन्दै नारा लगाएका हुन् ।

बुटवलको सिद्धेश्वर मैदानमा आयोजित सभामा प्रधानमन्त्री ओलीका समर्थकहरुले नै बालात्कारीलाई फाँसीको माग गरेका हुन् । प्रधानमन्त्रीले निर्मला पन्त तथा भागीरथ भट्टको हत्या लगायतका दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाउँदै गर्दा उनीहरुले कारबाहीको माग गर्दै नारा लगाएका हुन् । बाक्लो तथा कडा सुरक्षाका बीच आयोजित सभामा प्रधानमन्त्रीका आफ्नै समर्थकहरुले हत्याराको कारबाही माग गर्दै नारा लगाएपछि सुरक्षाकर्मी र स्वयम् सेवकहरुले समर्थकलाई थमथम्याउनु परेको थियो । प्रधानमन्त्री बोल्दैगर्दा रोष्टमको दायाँ तर्फ रहेका समर्थकहरुले नारा लगाउन थालेपछि सुरक्षकर्मी समेत ससंकीत बनेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘निर्माला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् या भागीरथ हत्या काण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानी मुनी गएपनि छोडिने छैन । विश्वका कुनै भागमा भागेर गएपनि छोडिने छैन ।’ उनीहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता गर्दै उनले दुई÷चार दिन वा एक वर्ष नै भागे पनि खोजेर कारबाही गरिने बताए । केही समयमै निर्मला हत्याकाण्डका दोषी तथा भागीरथ हत्याकाण्डमा संलग्नहरुलाई ल्याएर अदालतको कठघरामा उभ्याउने दाबी गर्दै उनले अपराधबाट उम्किन नपाउने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।