ताजा अपडेट »

प्रदेशमा ३५६ किलोमिटर पक्की सडक निर्माण

शनिबार, ०१ फागुन २०७७, १६ : ००
28 Shares

जनकपुरधाम । जनकपुरधाम प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०।९५ किलोमिटर, पक्की सडक ढलान ७४।९० किलोमिटर र ग्राभेल सडक १७०।१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५।५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९।८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ । सो अवधिमा २४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।

प्रदेश परिवहन सञ्चालन गरिने

प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा रु तीन करोड नौ लाख ८२ हजारमा पाँचवटा बस खरीद गरिसकेको छ ।

पत्रकार सम्मेलनमा सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको बताए। उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा ध्यान दिइनेछ भने ।

रासस
लेखकको बारेमा
रासस