ताजा अपडेट »

रुपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

शुक्रबार, ३० माघ २०७७, २१ : ३७
4 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पारजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले १७/१७ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ४, बसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाई १९३ रन बनाउँदै लक्षय पूरा गर्यो । उसका लागि प्रदीप सुवेदीले ४८, बसन्त खड्काले ४३ र सुवास चौधरीले ११ रन बनाए । बलिङमा स्टारका महेश पटेल र रोहन अर्यालले ३/३ विकेट लिए । बसन्त खड्का म्यान अफ दी म्याच घोषित भई पुरस्कृत भए । शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

https://www.globalaawaj.com/archives/81173
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।