ताजा अपडेट »

विकास र समृद्धिका लागि ओलीको नेतृत्वः बस्नेत

शुक्रबार, ३० माघ २०७७, २१ : १४
4 Shares

तिलोत्तमा । राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले मुलुकको विकास र समृद्धिको लागि ओली नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् । ओली नेतृत्वको नेकपा नै पार्टीको मूल धार भएको र यही पार्टीले विकास र समृद्धिको एजेन्डालाई अघि बढाउन सक्ने भन्दै उनले कुनै भ्रम नपाली पार्टीको मूल प्रवाहमा आएर विकास र समृद्धिको अभियानमा साथ दिन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा १५ को युवा भेलालाई शुक्रबार संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बस्नेतले यस्तो बताएका हुन् । युवाहरुले सही विचार, सही बाटो र सही नेतृत्वको पहिचान गर्नुपर्नेमा जोड दिदै बस्नेतले राजनीतिको नयाँ मोड आउँदा गन्तव्यको पहिचान गर्नुपर्ने बताए । प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको नभै जनतामा अधिकार दिएको भन्दै उनले चुनावको घोषणा लोकतान्त्रिक कदम भएको बताए । अहिले कम्युनिष्ट आन्दोलन घृणामा परिणत हुने हो कि भन्ने खतरा उत्पन्न भएकाले युवाहरुले बेलैमा यसको पहिचान गरी आन्दोलनलाई सही दिशामा ल्याउनुपर्ने र सही पार्टी रोज्नुपर्ने बताए ।

भेलामा बोल्दै नेकपा रुपन्देहीका प्रवक्ता एवं तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी एकतालाई पद र प्रतिष्ठाको अवसरका रुपमा प्रयोग गर्न खोज्दा अहिलेको अवस्था निम्तिएको बताए । कम्युनिष्ट आन्दोलनको मूल प्रवाहलाई जोगाएर लैजाने दायित्व युवाको काँधमा आएको उनको भनाइ छ । उनले विकास, समृद्धि र स्वाधिनताको मुद्दा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलीले अगाडि बढाएकाले युवाहरुले यसलाई साथ दिनुपर्ने बताए ।

राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने जुनसुकै तत्वलाई युवा वर्गले परास्त गर्ने बताए । त्यस अवसरमा स्थानीय काँग्रेस कार्यकर्ता कुमकुमारी गुरुंग, ताराप्रसाद मल्ल लगायतका करिव दुईदर्जन अन्य पार्टी परित्याग गरेका युवालाई संघका इन्चार्ज बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।