ताजा अपडेट »

सरस्वती पूजामा हुने विकृति रोक्न सक्रियता

शुक्रबार, ३० माघ २०७७, १३ : २८
12 Shares

लहान।  वसन्तपञ्चमीका नाममा हुने छाडापन र विकृतिजन्य कार्य रोक्न सिरहाको स्थानीय प्रशासनले कडा नीति अपनाएको छ । सरस्वती पूजाको अवसरमा चर्काे स्वरमा डिजे बाजा र अश्लिल गीत बजाउन रोक लगाउँदै स्थानीय प्रशासनले त्यस्तो कार्य गर्नलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सरस्वती पूजामा डिजेबाजा र अश्लिल गीत बजाए कानूनबमोजिम कारवाही गरिने जनाएको छ ।

सरस्वती पूजामा डिजेबजाको प्रयोग नगर्न र भोजपुर, मैथिली, नेपाली अश्लिल किसिमको गीत नबजाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलद्वारा हस्ताक्षरित सूचनामा बेवास्ता गरी चर्काे स्वरमा डिजे बजाउने, अश्लिल गीत बजाउनेलाई तत्काल पक्राउ गरिने उल्लेख छ । पक्राउ पर्ने डिजे जफत गरी सम्बन्धित व्यक्तिमाथि कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

साथै सरस्वती पूजाको नाममा विद्यालयले उठाइरहेको चन्दासमेत तत्काल रोक्न निर्देशन दिँदै सूचनामा विद्यार्थीबाट सरस्वती पूजाको नाममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयले उठाइरहेको चन्दा नउठाउनु र उठाएको चन्दासमेत फिर्ता गर्न निर्देशन दिएको छ ।

रासस
लेखकको बारेमा
रासस