ताजा अपडेट »

मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

शुक्रबार, ३० माघ २०७७, १० : ०६
6 Shares

लहान। सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो ।

मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीकरणको स्टिकर टाँस गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

अनुगमनका क्रममा एउटा होटललाई उत्तम वर्ग ९ख० वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटल तथा रेष्टुरेन्टलाई सन्तोषजन वर्ग ९ग० र एउटा होटललाई सामान्य वर्ग ९घ० वर्गको स्टिकर टाँस गरेको प्रमुख सिंहले बताए । ती होटल र रेष्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिएको थियो ।

सोहीअनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराएको प्रमुख सिंहले बताए ।

विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अतिउत्तम ९क० तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी ९ख०, ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक ९ग० र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग ९घ० गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिएको छ ।

सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए । अनुगमन तथा स्तरोन्नति टोलीमा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका सचिव भरत महासेठ, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्तालगायतको सहभागिता थियो ।

रासस
लेखकको बारेमा
रासस