ताजा अपडेट »

फागुन १ गते बुटवलमा ऐतिहासिक भेला हुन्छ : पोखरेल

विहीबार, २९ माघ २०७७, २० : ३८
6 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गते हुने बुटवलको सभा ऐतिहासिक सभा हुने दाबी गरेका छन् । नेपालमा अहिलेसम्म गरिएका भन्दा ठूलो जनसहभागिता हुने उनको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त सभामा दुईलाखको जनसहभागिता हुने पोखरेलले जानकारी दिए । जनताले दिएको म्यान्डेट विपरित उठाईएका विवादको परिणाम प्रतिनिधीसभा विघटन हो भन्ने आम नागरिकलाई बुझाउन बुटवलमा आमसभा गर्न लागिएको पोखरेले बताए ।

भेला बारे जानकारी गराउन प्रचार प्रसार समितिले विहिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेकपा अध्यक्ष प्रचण्डले जनयुद्धको मर्म र भावना बिर्सिएको आरोप लगाए । प्रचण्डले माओवादी आन्दोलनको क्रममा हजारौं युवाहरुलाई बचनबद्धता गरेर बलिदानको मोर्चामा पठाएको भएपनि अहिले जनयुद्धका मान्यता र आदर्शमा विचलन आएको बताए । २०५२ साल फागुन एक गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकोले त्यो दिन नेपालको राजनितिमा विशिष्ट भएको उल्लेख गर्दै पोखरेलले सोहि दिन बुटवलमा पुर्व जनमुक्ति सेनाको भेला समेत आयोजना गरिएको बताए ।

निर्वाचनबाट प्राप्त जनमतलाई संविधानको नाममा खोस्ने प्रयास गरिएको भन्दै उनले प्रधानमन्त्री ओलीले नयाँ जनमतका लागि फेरि जनतामै जाने निर्णय गरेको स्पष्ट पारे । पोखरेलले विवादको समाधान नेताहरुले मात्रै गर्न पाउनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक मान्यता नभएको उल्लेख गर्दै विवादको समाधान जनताले पनि गर्न पाउनुपर्छ भन्ने मान्यता अनुरुप निर्वाचनमा जाने निर्णय गरिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।