ताजा अपडेट »

फैसलापछि फरार ७९ पक्राउ

विहीबार, २९ माघ २०७७, १४ : १४
4 Shares

महेन्द्रनगर । विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहुविवाह, लागुऔषध र जबर्जस्ती करणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्लामा सक्रियरूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिए ।

“प्रायः अभियुक्त लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी धमाधम जिल्ला अदालत पेश गरिरहेको छ”, उनले भने, “अदालतबाट पनि कैद भुक्तान गर्न कारागार पठाउने काम भइरहेको छ ।” पक्राउका लागि जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालित छन् ।

विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ । कारागारका जेलर माया बस्नेत थापाले ३९६ कैदीबन्दी रहेको बताए । ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा क्षमताभन्दा धेरै बढी रहेका छन् ।

रासस
लेखकको बारेमा
रासस