ताजा अपडेट »

जनसहभागितामा सडक कालोपत्र

विहीबार, २९ माघ २०७७, १३ : १८
6 Shares

बागलुङ । गलकोट नगरपालिकाको व्यापारिक केन्द्र हटिया बजारको भित्रि सडक कालोपत्रका लागि जनसहभागिता जुटाइएको छ । लोकतन्त्रचोकदेखि पुरानो बजार र गणतन्त्रचोकहुँदै रजहरासम्मको झण्डै एक किमि सडक कालोपत्र हुन लागेको हो ।

सो योजनामा नगरपालिका र स्थानीयवासीको लागत साझेदारी रहेको वडा नं ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । “नगरको रु ७० लाख र स्थानीयवासीको रु ३० लाख बजेट छ”, उनले भने, “बोलपत्र भइसकेको छ, अर्को हप्तादेखि काम शुरुआत हुन्छ ।”

नगरभित्रका सडक स्तरोन्नति र कालोपत्रका लागि नगरपालिकाले वर्षेनि बजेटमा प्राथमिकता दिँदै आएको छ । नगरपालिकाको केन्द्रसँगै जोडिएको हटिया बजारको भित्री सडक अहिलेसम्म कालोपत्र हुन सकेको थिएन । मध्यपहाडी लोकमार्ग बजारको तल्लो भागबाट अगाडि बढेपछि पछिल्लो समय बजार विस्तार त्यतै केन्द्रित बनेको छ । भित्री बजार क्षेत्रको सडक सुधारसँगै नाली व्यवस्थापनको काम पनि सँगसँगै अगाडि बढेको उनले बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत गत वर्षदेखि थालिएको नाली निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जनाइएको छ । रु ६० लाखको बजेटमा नाली निर्माणको काम शुरुआत भएको थियो । सडक र नाली बनेपछि बजार क्षेत्र व्यवस्थित बन्ने गलकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । “कालोपत्र भएपछि यातायात पनि सहज हुन्छ, पुरानो बजार पनि राम्रो बन्ने भयो”, उनले भने ।

नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक स्तरोन्नति नगरको मुख्य प्राथमिकतामा रहेको जानकारी दिए । “नगरभित्रका सबै मुख्य सडकमा बाह्रैमास यातायात चल्ने अवस्था बनेको छ”, उनले भने ।

अन्य वडामा पनि सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । वडा नं १० पाण्डवखानीको गैराभाटीदेखि रमुवा जोड्ने सडकमा रु ५० लाख बजेटमार्फत काम भइरहेको जनाइएको छ । वडा नं ८ को बराहबोटदेखि वडा कार्यालयसम्मको सडक ढलान हुँदैछ । यस्तै वडा नंं. ११ को चौरदेखि सानोरिघासम्मको सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाख अनुदानबाट रगेनी–तोरीखोला–ठानाहुँदै नगरपालिकाको केन्द्र मजुवाफाँट जोड्ने सडक स्तरोन्नति गर्न ठेक्कामार्फत काम अगाडि बढाइएको हो ।

दुई वर्षमा ६५ किमी सडक कालोपत्रे

बलेवा–गण्डकी प्रदेश सरकारले जिल्ला ६५ किमी सडक कालोपत्रेको काम थालेको छ । बहुबर्षे योजनाअन्र्तगत गत आर्थिक बर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्नेगरी छ सडक कालोपत्रे गर्न थालिएको हो ।

कुल ६५.४८ किलोमिटर सडक उक्त अबधिमा कालोपत्रे हुनेछ । पूर्वाधार कार्यालयले विभिन्न पाँचवटा सडकको सम्झौता गरेर काम अघि बढाइसकेको छ । बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङका, ताराखोला गाउँपालिकाका बिभिन्न सडक योजनाहरु कालोपत्रे हुन थालेको कार्यालय प्रमुख शोभियत खड्काले जानकारी दिए । सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तर स्थानीय तह जोड्ने सडकको कालोपत्रे सुरु भएको हो ।

बागलुङ –४ फेदीदेखि मालिका, कालिमाटी, काठेखोला गाउँपालिकाको भिमपोखरा, धम्जा तंग्राम, लेखानीहुँदै बागलुङ नगरकै तित्याङ्ग, भकुन्डे, भैरवस्थान जोड्ने सडक कालोपत्रेको काम भैरहेको छ । २०७६ असोज २८ गते सम्झौता भएको यो सडक कालोपत्रेको १४ किमी खण्डको काम सिंह किराटश्वर काष्टमाण्डप जेभीले गरिरहेको छ ।

एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको यस सडककोे भौतिक प्रगति ९७ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ करोड कुल लागत अनुमान गरेको यस सडकको काम २७ करोड ६८ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । कोरोना महामारीले काममा प्रभाव परेकाले समयमा सकिने सम्भावना कम रहेको प्रमुख खड्काले जानकारी दिए । यस सडक कालोपत्रेको काम २०७८ आसोज २७ सम्म सकिसक्नु पर्छ ।

जैमिनी नगरपालिका–१ कुश्मीसेरादेखी राङखानी राम्दुकहुँदै बरेङ शान्तीपुर सडक खण्डको खण्डमा कालोपत्रेको काम जारी छ । २०७६ असोज २८ गते सम्झौता भएको यस सडक कालोपत्रेको १० किमी खण्डको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ । एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको सडककोे भौतिक प्रगति ८० प्रतिशत छ । हालसम्म सडकको काम २४ करोड ४५ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । यस सडक कालोपत्रेको काम सक्ने सम्झौतामा २०७८ आसोज २७ सम्म सकिसक्नु उल्लेख छ ।

छिमेकी जिल्ला म्याग्दीको रुम जोड्ने गरी गलकोट नगरपालिकाको हरिचौरदेखि ताराखोला गाउँपालिकाको हिल र म्याग्दीको रुम सडकको मुख्यखण्ड स्तरोन्नतीको काम भैरहेको छ । कालोपत्रेको योजना रहेको यस सडक पहिलो चरणमा स्तरोन्नती काम भैरहेको कार्यालयले जनाएको छ । १०.८९ किलोमिटर सडक एपेक्स, खड्का किस्न कम्पनीले कामको जिम्मेबारी लिएको छ । नब्बे प्रतिशत भौतिक प्रगति देखिएको यो योजना २४ करोडभन्दा धेरै रकमको हो ।

जिल्लाको सुदुर पश्चिम भनेर चिनिने निसीभुजी क्षेत्रमा एउटामात्रै सडकको काम चलिरहेको छ । ढोरपाटन नगरपालिकाको दुवाडी गाडीखोला, चामीद्वार छ्यान्टुङहुँदै म्याग्दी जोड्ने १०.३९ किलोमिटर सडक कालोपत्रेको काम चलेको हो । गत बर्ष कात्तिकमा सम्झौता भएको यस योजनाको समयावधि आगामी कात्तिकमा सकिँदै छ । श्रेष्ठ क्याराभान कम्पनीले २५ करोडमा कामको जिम्मेबारी लिएको यो सडकमा भौतिक प्रगति ९० प्रतिशत रहेको छ ।

जिल्ला सदरमुकामलाई दक्षिणका पालिकाहरुसँग जोड्ने मालढुंगा, पाग्जा, बलेवा एरपोर्ट, कुश्मिसेरा सडक कालोपत्रेको काम चलिरहेको छ । प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मेबारी लिएको यस सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । दश किमी खण्डमा धमाधम काम भैरहेको छ । गत आ.वमा सम्झौता भएका सडकमध्ये यस सडक समयअघिनै काम सक्ने पहिलो सडक बन्ने छ । रु २९ करोडमा निर्माणको सम्झौता गरेको कम्पनीले ९८ प्रतिशत भौतिक प्रगति देखाएको छ ।

आगामी चैत लागेपछि कालोपत्रे बिच्छाउने तयारीमा रहेको कम्पनीले चैतको अन्तिमसम्म सडक हस्तान्तरण गर्ने जनाएको छ । ताराखोलाको केन्द्र जोड्नेगरी कालोपत्रे योजना रहेको खरीखोला सर्पान्दीहुँदै गाउँपालिकाको केन्द्र जाने सडकको ठेक्का सम्झौता हुन सकेको छैन् । दश किमी सडकका लागि मन्त्रालयले ४७ करोड रुपैयाँबजेट बिनियोजन गरेको छ । बोलपत्र प्रक्रिया चलिरहेकाले एकदुई महिनामै यस सडक कालोपत्रे सुरु हुने कार्यालय प्रमुख खड्काले बताए । गण्डकी प्रदेश सरकारले पालिका मुकाम जोड्ने र रणनितिक योजनामा समाबेश गरेर सडकहरु कालोपत्रे र स्तारोन्नतीको काम गरिरहेको हो ।

गाउँपालिकाको आफ्नै एम्बुलेन्स

गलकोट– कोरोना कहरमा एम्बुलेन्स विहीन बनेका गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । तीन महिना अघि भारत सरकारको सहयोगमा बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्रापत गरेको थियो भने अहिले ताराखोला गाउँपालिकालाई प्रवासीको सहयोगमा उम्बुलेन्स प्राप्त भएको छ । ताराखोला गाउँपालिकालाई गलकोट समाज जापानको आर्थिक सहयोगमा खरिद गरेको एम्बुलेन्स हस्तान्तरण गरिएको छ । यसअघि गाउँपालिकाको आफ्नै एम्बुलेन्स थिएन । कोरोना महामारीमा गाउँपालिकाले बिग्रिएर थन्किएको एम्बुलेन्स लिएर मर्मत गरी चलाउदै आएको थियो ।

अध्ययन र रोजगारीको शिलशिलामा जापान पुगरे संगठिन भएका गलकोटेहरुले गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा समस्या भएको जनाउँदै रु. ११ लाख रकम जुटाएर पठाएका थिए । रकम पठाएको ६ महिनामा सरकारी प्रक्रिया मार्फत कर छुट गरी एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । समाज जापानका पूर्व अध्यक्ष नरबहादुर थापा, लेखा समिति संयोजक तेज चालिसे लगायतले गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि विरामीलाई सहज हुँने गाउँपालिका अध्यक्ष घर्तीको भनाइ छ । गाउँपालिकाले एम्बुलेन्स चालक समेत नियुक्ति गरिसकेको छ । एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण गरी सुत्केरी र गर्भवतीलाई निःशुल्क, अति बिपन्न परिवारलाई छुटमा एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाले एम्बुलेन्समा सुविधा थप गर्न झण्डै एक लाख खर्चने लक्ष्य राखेको छ ।

गाउँपालिकाले सहज रुपमा विरामीलाई अस्पताल पुर्याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ । गाउँपालिकाले संक्रमितलाई निःशुल्क बोक्दै आएको छ । अन्य विरामीलाई सर्भसुलभ दरमा एम्बुलेन्स सेवा दिने गरी गाउँपालिकाले चालक व्यवस्थापन गरेको हो । भाडाको एम्बुलेन्स सञ्चालन गर्दा बढी खर्चिलो र झन्झटिलो भएको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले आफ्नै एम्बुलेन्स भएपछि सहज हुँने बताए । उनले ताराखोला गाउँपालिकाका जनतालाई सस्तो मुल्यमा एम्बुलेन्स सेवा दिने छ ।

रासस
लेखकको बारेमा
रासस