ताजा अपडेट »

नेपाल टेलिकम रुपन्देही सुपरलिग, प्रोफेसनलको विजयी सुरुवात

बुधबार, २८ माघ २०७७, १९ : १२
8 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा बुधबारबाट नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । सिद्धार्थ रंगशालामा आज भएको डिभिजन बी अन्तर्गतको खेलमा प्रोफेसनल मास्टर्स ११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित ४१ ओभरको खेलमा अलआउट हुँदै १६१ रन बनायो । उसका लागि अनिल थापाले ४३ र ईश्वर ज्ञवाली नटआउट ३८ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रसाद यादवले सर्वाधिक ५ विकेट लिए । यस्तै, अनिल जैसवारले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३५ ओभरमा ७ विकेट क्षतिमा १६२ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि प्रमिस थापाले ४३ र अनिल जैसवारले ३० रन बनाए ।

स्टारका महेश पटेलले ३, जय गोदार र मौसम ढकालले समान २/२ विकेट लिए । म्यान अफ द म्याच जयप्रकाश यादव घोषित भई पुरस्कृत भए । बिहीबार डिभिजन बी अन्तर्गत गोलपार्क क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोद यादवले खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले लामो समय रोकिएको खेलकूदले पछिल्लो समय निरन्तरता पाउँदा खेलाडीहरु उत्साहित भएको जनाए । रुपन्देहीले क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेकाले यहाँ बनिरहेको रंगशाला छिटो सम्पन्न हुनुपर्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।