ताजा अपडेट »

हराएको २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

बुधबार, २८ माघ २०७७, १३ : ५१
6 Shares

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ ।

सोही क्रममा विभिन्न क्षेत्रबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताए ।महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ ।

उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला फेला पारेर आज हस्तान्तरण गरिएको हो । सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए । उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न समेत सुझाव दिएका छन् ।

रासस
लेखकको बारेमा
रासस