ताजा अपडेट »

पद र प्रतिष्ठाका लागि उत्पन्न विवाद चुनावले मत्थर पार्छ : मुख्यमन्त्री

बुधबार, २८ माघ २०७७, ०९ : १२
2 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पद र प्रतिष्ठाकै लागि नेकपाका अर्को पक्ष सडक आन्दोलनमा पुगेको बताएका छन् । नेकपा (दाहाल-नेपाल) समुहलाई लक्षित गर्दै उनले पद र प्रतिष्ठाकै लागि उनीहरु सडकमा पुगेको बताएका हुन् ।

मँगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन् ‘सडक आन्दोलनमा पुग्नु भएका नेताहरु यतिवेला हाम्रो विवाद पदको लागि होइन भन्दै हुनुहुन्छ । हिजो विवाद मुलतः पदप्रतिष्ठा र स्वार्थ केन्द्रीत भएकै कारणले पार्टी, पार्टी जसरी संचालन हुन सकेको थिएन । नेताहरुका बीचको विवाद स्वार्थ केन्द्रीत भयो भनेर आम रुपमा प्रश्न उठे पछि नै प्रचण्ड कमरेडका नाममा कथित अभियोग पत्र तयार गरिएको थियो । विवादको समाधान हुँदा स्वार्थ पुरा नहुने ठानेर समाधानको प्रयासलाई मुख्य नेताहरुबाटै उपेक्षागर्ने काम भएको थियो । वास्तवमा प्रतिनिधिसभाको विघटन विवादको कारण नभएर परिणाम थियो । तर आज त्यसलाई मुख्य कारण जस्तो बनाइएको छ । जुनकुरा यथार्थभन्दा वाहिर छ ।

मुख्यमन्त्री पोखरेलले पद र प्रतिष्ठाका लागि आफ्नै दलभित्रबाट अभियोग पत्र ल्याइएको र त्यसकै कारण संसद विघटन गर्नु पर्ने अवस्था सिर्जना भएको बताउँदै संसद विघट कारण नभई परिणाम भएको स्पष्टिकरण दिएका छन् । उनले अगाडी लेखेका छन्-‘वास्तवमा प्रतिनिधि सभाको विघटन पूर्व नै पार्टी मनोवैज्ञानिक रुपमा विभाजित भइसकेको थियो । प्रतिनिधिसभाको विघटनपछि त आपसी सम्वन्ध नै शत्रुतापूर्ण तहमा पुगेको छ । हाम्रा बोली व्यवहार शत्रु हसाउने खालकै छन् । यस्तो अवस्थामा हाम्रो विवाद पदका लागि थिएन भन्ने कुराले भन्नेको समेत उपहास भइरहेको छ । प्रतिनिधिसभाको विघटन पछिका हाम्रा क्रिया र प्रतिकृयाले पदिय आकांक्षालाई नै पुष्टि गरिरहेका छन् । किनकी त्यस पछिका मुख्य निर्णयहरु पद प्राप्तिमा नै केन्द्रीत देखिएका छन् ।’

आगामी निर्वाचनले नै सबै समस्याको हल गर्ने बताउँदै उनले लेखेका छन् -‘बरु यसका विपरित विगतको हाम्रो विवाद गलत थियो भनेर गल्ती स्विकार गर्ने हो भने मिलेर जाने ठाउँ बनाउन सकिन्छ । अनि चुनाव त अझ यस्तो हतियार हो, जसले विवादलाई पनि मत्थर पार्न सहयोग पुर्याउन सक्छ । शत्रुतापूर्ण विवादबाट बाहिर निक्लेर यसरी पनि सोच्न सकिन्छ कि !’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।