ताजा अपडेट »

११ औं शताब्दि अघिको थाङ्का कला जोगाउन फोटो प्रदर्शनी

सोमबार, २६ माघ २०७७, १६ : ५७
6 Shares

बुटवल । दर्जन बढी कलाकारहरुलाई हातमा ब्रस लिएर रङ्गहरुको समिकरण मिलाउन सिकाउँदै प्राज्ञ बुद्धिबहादुर गुरुङले सोमबार ‘थाङ्का/पौभा’ कला बारे जानकारी गराउँदै थिए । पुर्वीय दर्शनमा आधारित हिन्दु दर्शन, बुुद्ध दर्शनका देविदेवताहरु तथा परम्परागत विभिन्न डिजाइनका बुट्टाहरु अंकित मौलिक कला थाङ्काको महत्व बुझाउँदै यसको प्रचार–प्रसारमा उनको जोड थियो ।

बुटवल-७ सुख्खानगरमा अवस्थित स्पान होटलको स्वागत कक्षमै करिब ३ दर्जन थाङ्काका तस्वीरहरु देखाउँदै यसको महत्वका बारेमा चर्चा गर्न प्राज्ञहरु गुरुङसहित मानबहादुर दोङ, देवेन्द्र थुम्केली, यमबहादुर थापा, शान्ताराम आचार्य, गंगाधर गिरी लगायतको उपस्थिती थियो । नयाँ पुस्तालाई यसको महत्व र इतिहास सिकाउने उद्देश्यसहित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको परम्परागत शिल्पकला विभाग प्रमुख गुरुङले देशका विभिन्न ठाउँमा फोटो प्रदर्शनी र कलाकारहरुका लागि प्रशिक्षण गर्ने गरी अभियानमा लागेका हुन् ।

आधुनिकता र डिजिटल प्रविधिको पछि लाग्दा नेपाली पहिचानलाई जोगाई राख्ने शिल्पकला मध्यको थाङ्का कला नै लोप हुने अवस्थामा पुगेकोमा उनीहले चिन्ता व्यक्त गरे । प्रदर्शनीमा दिवङ्गत प्रसिद्ध कलाकारहरु आनन्दमुनि शाक्य, सिद्धिमुनि शाक्य, माणिकमान चित्रकार, ज्ञानकार बज्राचार्य, धनबादुर चित्रकार, दीपककुमार जोशी लगायतका कृतिहरु राखिएको थियो । सहभागी कलाकारहरुले नेपाली परम्परा र ऐतिहासिक सम्पत्तिको संरक्षणका लागि सरकारको ध्यान जान नसकेको गुनासो गरे ।

कला क्षेत्रमा लागेका व्यक्तिहरु जीविको पार्जन गर्न पनि समस्या हुने गरेको बताउँदै प्राज्ञ यमबहकादुर थापाले कलाको संरक्षण तथा प्रचार-प्रसारमा राज्यले पहल गर्यो भने समस्या आफै समाधान हुने बताए । थाङ्का कलाका कृतिहरु बारे नेपाली समाजले बुझ्न नसक्दा महत्व घटिरहेको उनले बताए । ‘यसको महोत्वका बारेमा विदेशीहरु राम्रोसँग बुझेका छन्, त्यसैले विभिन्न देशका सङ्ग्राहलयमा नेपाली परम्परागत कला भनेर यसलाई सजाइएको पाइन्छ ।’-थापाले भने, नेपालमा पनि यसरीने यसको संरक्षण गर्न जरुरी छ ।

थापाका अनुसार रुपन्देहीमा अहिले थाङ्का/पौभा कलामा लागेका कोही पनि छैनन् । देशका विभिन्न ठाउँमा गरी २० बढी सय कलाका क्षेत्रमा काम गरिरहेको परम्परागत शिल्पकला विभागको अनुमान छ । गत वर्ष प्रदेश १ र २ मा फोटो प्रदर्शन गरिएको थियो भने यो वर्ष बुटवल र गण्डी प्रदेशको स्याङ्जा वालिङमा प्रशिक्षणसहित फोटो प्रदर्शनी राखिएको हो ।

प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले देशका ७ वटै प्रदेशका विभिन्न ठाउँमा दुई वर्षभित्र यस खालका कार्यक्रमहरु गरिसक्ने योजना बनाएको छ । नेपालमा ११ औं शताब्दि अघिदेखि नै प्रयोगमा आउने गरेको थाङ्का कला पुर्वीय दर्शनअनुसार रहेको र विस्तारै पश्चिमी दर्शनको प्रभाव बढ्दै गर्दा लोप हुने अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।