ताजा अपडेट »

रिङसिङलेक सहकारीको अध्यक्षमा पुनः सुनारी

शनिबार, २४ माघ २०७७, २२ : ४३
4 Shares

तिनाउ । रिङसिङलेक सामुदायिक विकास कृषि सहकारी संस्था लिमिटेड, तिनाउ–१ पाल्पाको आठौं वार्षिक साधारण सभा एवम् चौथो अधिवेशनले पुनः लोकबहादुर सुनारीको नेतृत्मा नयाँ कार्यसमिति चयन गरेको छ ।

तिनाउ-१ ओखलढुंगामा शनिवार भएको अधिवेशनले आगामी दुई वर्षका वरिष्ठ उपाध्यक्षमा भद्रबहादुर सुनारी, उपाध्यक्ष जनु बिक, महासचिव भुवनसिंह लम्तरी, सचिव उमा अर्घाली, कोषाध्यक्षमा ओमबहादुर सुनारी, सदस्यहरुमा देवी बगाले, गणेश उचै र पीताम्वर घर्ति रहने गरी नयाँ नेतृत्व चयन गरेको हो । सो अवसरमा बोल्दै तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले ग्रामीण क्षेत्रमा रहेको सहकारीले स्थानीय किसानहरुको जीविकोपार्जनमा टेवा दिई आर्थिक समृद्धिको क्षेत्रमा योगदान दिएकोमा प्रशंसा व्यक्त गरे । गाउँलेहरुलाई गाउँमै सहकारी भएपछि साहुकहाँ कर्जा लिन हात थाप्न नपरेको बताउँदै उनले समाजवादोन्मुख समाज स्थापनाका लागि सहकारी नै रामवाण हुने दाबी गरे ।

यसैगरी सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले सहकारी नभएको ठाउँमा छोरी दिन नहुने कविता सुनाउँदै ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिक पाटोमा जोड्न सहकारीले महिला उद्यमशीलतामा जोड दिनु पर्ने सन्देशसहित गाउँमा सहकारीले कृषि, शिक्षा र पर्यटनमा कर्जा लगानी गर्नुपर्नेमा जोड दिए । तिनाउ युवा समन्वय समितिका संयोजक प्रेम श्रेष्ठले युवाहरुलाई विदेश जानबाट रोक्नका निम्ति सहकारी नै मुख्य बाटो हुन सक्ने भएको हुँदा सहकारीलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा युवा नेता बिमल खत्री, देवीश्वरी आधारभूत विद्यालयका प्रअ कुलबहादुर गाहा लगायतले गाउँमा सहकारी रहँदा आफूहरुलाई लाभ पुगेको बताए ।

कार्यक्रममा तरकारी खेतीमा उत्कृष्टता हासिल गरेकी मनकुमारी बगाले र सहकारी कृषि उपज संकलन केन्द्रको लागि भवन निर्माण गर्न जग्गा निःशुल्क उपलब्ध गराउने होमबहादुर चिदीलाई दोसल्ला ओढार सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष लोकबहादुर सुनारी मगरले आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्यक्रम समेत पेश गरेका थिए । उनले आफ्नो संस्थाले ग्रामीण क्षेत्रमा रहेका किसानहरुको आर्थिक एवम् सामाजिक विकासका निम्ति सहकारीले उद्यमशीलतमा जोड दिदैं आएको बताउँदै सोही अनुसारको नीति तथा कार्यक्रम पेश गरेका छन् । त्यसै गरी लेखा समितिका संयोजक भद्रबहादुर सुनारी र कोषाध्यक्ष खुमबहादुर चिदीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७६/२०७७ मा ६ लाख ४८ हजार ७ सय ९१ रुपैयाँ ८५ पैसा शुद्ध मुनाफा गरेको छ । उक्त सहकारीमा चार सय ५१ जना शेयरधनी सदस्यहरु रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।