ताजा अपडेट »

सभामुखद्वारा संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्चमा रिट दायर

शुक्रबार, २३ माघ २०७७, १२ : ५३
6 Shares

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । हालै गरिएको संवैधानिक नियुक्तिहरूविरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ती नियुक्तिहरु अवैधानिक भएको भन्दै सापकोटाले वारेशमार्फत आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा प्रधानमन्त्री ओलीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तम प्रेमकुमार राई तथा आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तद्धय रामप्रसाद भण्डारी र डा। जानकी तुलाधर, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरु मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर, वित्त आयोगका सदस्यहरु जुद्धबहादुर गुरुङ र अमरबहादुर मिश्र, महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्यहरु कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा, मधेशी आयोगका सदस्यहरु जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्ता, आदिवासी जनजाति आयोगका अध्यक्ष, रामबहादुर थापा, थारू आयोगका सदस्य विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारू लगायतका छन् । उनीहरुले गत बुधावार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए ।

शपथग्रहण समारोहमा सभामुख सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन अनुपस्थित रहेका थिए । रिटको पेशी आइतबारको लागि तोकिएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।