ताजा अपडेट »

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड

विहीबार, २२ माघ २०७७, २१ : २०
4 Shares

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिनुभयो । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ । बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए ।

प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ । प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए।

अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । नागरिकको संविधान प्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो । गृहमन्त्रालयले शान्तिसुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानूनी कारवाही गरिने जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस