ताजा अपडेट »

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन

शुक्रबार, ०४ माघ २०७५, ०२ : ५१
6 Shares

माघ ४,


मेलम्ची । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।

नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले विहिबार तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । “मे १८ मा उक्त नाका खोल्न सकिन्छ कि, सकिँदैन भनेर दुई देशका प्रतिनिधिद्वारा अनुगमन भएको हो”, नगरप्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार मितेरी पुल, सुख्खा बन्दरगाह, सडकलगायत निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन पछि दुवै देशका प्रतिनिधि तोकिएकै समयमा नाका खुलाउन सकिने निष्कर्षमा पुगेका हुन् । “कामको तीव्रता राम्रै पाइयो, चीनको तर्फबाट समयमै काम सम्पन्न गर्ने देखियो”, प्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले ताकेता गरेको थियो । जसअनुसार अहिले चिनियाँ रेलबे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सिआरसिसीले पुनःनिर्माणको कामलाई तीव्रता दिएको छ ।

अनुगमनपछि जस्तोसुकै मूल्य चुकाएर भए पनि समयमै काम सक्न चिनियाँ भन्सार विभाग उपमहानिर्देशक भाइसीले सिआसिसीलाई निर्देशन दिएको प्रमुख शेर्पाले जानकारी गराउनुभयो । उहाँका अनुसार सुक्खा बन्दरगाह, सडक मितेरी पुल लगायत १५ स्थानमा सिआरसिसीले २७८ कामदार परिचालन गरेको छ । २२ किमी सडकको पुनःर्निर्माण गर्ने जिम्मा लिएको सिआसिसीले ८–८ घण्टाको सेक्टर बनाएर २४ सैँ घण्टा कामलाई तीव्रता दिएको छ । अब आउँदो चार महीना सकाउने गरी कामलाई तीव्रता दिएको सिआरसिसीले पहिरो नियन्त्रण, कङ्क्रिट, माटो फिलिङ, मेशिनरी वाल, ग्याबिन लगायतको काम एकैसाथ थालेको छ ।
रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।