ताजा अपडेट »

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा निसीखोला

मंगलबार, २० माघ २०७७, १५ : ३७
2 Shares

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।

निसीखोला गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्यूठानसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि गाउँपालिकाले योजना अगाडि ल्याएको निसीखोला गाउँपालिकाले जनाएको छ । प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरी, पूर्वी रुकुम र निसीको सिमानामा अवस्थित रिगताल, गाउँपालिका-३ मा रहेको नौ बहिनी छहरा, वडा नं ५ मा रहेको कोठेभिर, वडा नं ७ को नरसिंहकोट, वडा नं २ को अर्नाकोट, वडा नं ५ को निसेलढोरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना पहिचान गरेर पूर्वाधारसँगै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।

नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, नरसिंहकोट, अर्नाकोट, निसेल ढोरपाटन, रिगतालमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार पार्ने काम शुरु गरिसकेको गाउँपालिकाले जनाएको छ । वडा नं ७ मा रहेको नरसिंहकोटमा गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरेर पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले जानकारी दिए ।

गाउँपालिका तथा केन्द्र सरकारबाट विनियोजन भएको रकमबाट नरसिंहकोटमा रेलिङसहितको पदमार्ग निर्माण, शौचालय, धारोलगायतका पूर्वाधार निर्माण गरिएको अध्यक्ष कुँवरको भनाइ छ । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये धेरैजसो स्थान मोटरबाटोले जोडिएको र केहीमा अझै पुगेको छैन । सबै ठाउँमा सडक सञ्जालले जोड्नका लागि गाउँपालिकाले सर्वे गरेको छ ।

गाउँपालिकाबीच भागबाट मध्यपहाडी लोकमार्गले चिरेर रुकुम जोडिएको हुँदा धेरैजसो पर्यटकीय क्षेत्र लोकमार्गदेखि नजिक छन् । ती धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार गर्ने काम शुरु गरिएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

गुरुयोजना निर्माणपश्चात् पालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीयस्थलको विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य समन्वय गर्ने अध्यक्ष पौडेलको भनाइ छ । “गत वर्षमा हामीले पर्यटन क्षेत्रमा धेरै लगानी गयौँ त्यही अनुसारको बजेट पनि व्यवस्थापन गयौँ, यसवर्ष बजेट प्रचारका लागि भनेर रकम विनियोजन भएको छ,” पौडेलले भने, “यस वर्ष हामी पालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारमा लागेका छौँ ।”

पालिकाभर धेरै मनमोहक र धार्मिक आस्था बोकेका स्थान तथा पर्यटकीय क्षेत्र रहेकाले पर्यटकीय सम्भावना देखाउन स्थानीयवासीलाई पनि जागरुक बनाइरहेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि रु पाँच लाख विनियोजन गरेको छ । प्यूठानको गौमुखी गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन भएको छ ।

रासस
लेखकको बारेमा
रासस