ताजा अपडेट »

कागती खेतीतर्फ बढ्दै आकर्षण

मंगलबार, २० माघ २०७७, १५ : १७
6 Shares

कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दै आएकी छन् । अहिले उनले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाएकी छन् ।

गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गरेकी उनी यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा छिन् । “मैले कृषिमा केही फरक गर्नकै लागि कागतीखेती शुरु गरेकी हुँ”, दुर्गाले भनिन्, “कागती लगाएको करीब एक वर्ष पुग्नै लागेको छ । अर्को वर्षमा उत्पादन शुरु हुनेछ ।” कृषि जेटिए अध्ययन गरी कृषि व्यवसायमा लाग्नुभएकी दुर्गाका अन्य परिवारका सदस्य भने जागिरे पेशामा छन् ।

उनले कागतीखेतीको शुरुआतसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएकी छन्। “उत्पादन र आम्दानी राम्रो छ । मेरो अध्ययनको विषय पनि कृषिसम्बन्धी नै भएको हुँदा अरुको भन्दा राम्रो उत्पादन गर्न सफल भएकी छु”, दुर्गाले भनिन्, “बजारीकरणमा समस्या छ । सरकारले उचित बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै सफलता हासिल गर्न सकिन्छ ।”

टीकापुर नरगपालिका–३ की खेमा विकले रु १० हजार ५१० को लगानीमा दुई कठ्ठा क्षेत्रफलमा कागती रोपेका छन् । रु छ हजार ३८२ आयोजनाको अनुदान र अन्य आफ्नो लगानीमा शुरु गरिएको कागतीखेती राम्रो हुँदै गएको खेमा बताउँछन् । उनले छाडा चौपायाका कारण कागतीका बोट बचाउन समस्या भएको बताउँदै अहिले कागतीखेतीलाई आफूले परीक्षणको रुपमा लिएको बताए ।

“मेरो लागि यो नयाँ व्यवसाय हो । यसले उत्पादन कस्तो दिन्छ रु त्यसपछि मात्र थप गर्न सकिने अवस्था छ ।” खेमाले भने, “कागतीको बजारीकरणमा समस्या छैन । अहिले पनि प्रतिदाना पाँचदेखि १० रुपैयाँ तिरेर हामी आफैँ पनि प्रयोग गर्दै आएका छौँ ।” त्यस्तै लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरका शङ्कर विष्ट होटल व्यवसाय गर्दै आएका थिए । होटलमा भविष्य नदेखेपछि शङ्कर कुखुरापालनतर्फ आकर्षित हुनुभयो । उहाँले कुखुरापालनसँगै छ कठ्ठा क्षेत्रफलमा कागती खेतीको शुरुआतसमेत गरेका छन् ।

‘‘अनुदानबाट रु १९ हजार ८४५ अनुदान पाएसँगै कागतीखेती शुरु गरेको हुँ । अहिलेसम्म हेर्दा राम्रै होला जस्तो छ ।” शङ्करले भने,,“त्योसँगै मैले सल्यानबाट समेत कागतीका बिरुवा मगाएर थप गरेको छु ।” उनले स्थानीय र कडकनाथ कुखुरासँगै बङ्गुरपालनसमेत शुरु गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस