ताजा अपडेट »

अफगान राजधानी काबुलमा बम हमला

मंगलबार, २० माघ २०७७, १४ : ४३
4 Shares

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ।

उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो । प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिए । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए ।

तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए । हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन् । प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिए। उनले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताए ।

उक्त घटानामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन् । अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ । अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ ।अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भत्र्सना गरिरहेको छ ।-एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।