ताजा अपडेट »

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

शनिबार, १७ माघ २०७७, १५ : १७
4 Shares

काठमाडौँ। वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले राससलाई जानकारी दिए । गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।

जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी भएका थिए । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए ।

उत्तरी चक्रपथ सफाइ २०० औँ हप्तामा

उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २००औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनप्रतिनिधि, कलाकारको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनीहरुले सफाइ अभियानलाई जागरणका रुपमा टोल टोलमा बिस्तार गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गायक बद्री पङ्गेनी र तिलक बस्नेत एवं गायिका मञ्जु पौडेल र कल्पना दाहालले गीतसमेत गाएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताए । सो अवसरमा चक्रपथ क्षेत्रमा सफाइसमेत गरिएको थियो । विगत २०० हप्तादेखि चक्रपथ सफाइ अभियान निरन्तर हुँदै आएको छ ।

गोदावरी खोला सफाइ १००औँ हप्तामा

ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए ।

प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताए । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गोदावरी खोला क्षेत्रका नगरपालिकासँग समन्वय गरी स्वच्छ राख्ने अभियानमा काम गर्ने प्रतिबद्धता जनाए । १०० हप्ताको विशेष कार्यक्रमम सहभागी भएका सफाइ अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । विगत १०० हप्ताअघिदेखि महिला र बालबालिकाको विशेष पहलमा गोदावरी खोला सफाइ हुँदै आएको छ । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहेकाछन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । सहायक नदीसँगै उपत्यकामा चक्रपथका विभिन्न स्थान, सांस्कृतिक सम्पदालगायत स्थानमा पनि साप्ताहिक रुपमा सफाइ भइरहेको छ ।

उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट आशातीतरुपमा नदी सफा नदेखिए पनि देशभर सफाइ जागरण फैल्याउन सफल भएको छ ।

यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर जागरण फैलिए पनि स्थानीय सरकारको बेवास्ताले संस्थागतस्वरुप ग्रहण गर्न नसकेको अभियानकर्मीको गुनासो छ । नदी किनार, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाहीको अभियान चलाउन सके पनि सफाइमा ठूलो सहयोग पुग्ने विश्लेषण अभियानकर्मीको छ ।

रासस
लेखकको बारेमा
रासस