ताजा अपडेट »

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक

शुक्रबार, १६ माघ २०७७, १३ : ४९
4 Shares

कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो । “माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ”, कार्यालयका प्रमुख उदयराज जोशीले भने, “कार्यक्रमअनुसार माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको छ ।”

उनका अनुसार कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको उनले बताए ।

मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसित छलफल गरिसकेको छ । कार्यालयले छलफलपछि गरी कार्यक्रम अगाडि बढाइएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ जना मतदाता रहेका छन् ।

एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मतदान केन्द्र पुनरावलोकनको कार्यसमेत निर्वाचन कार्यालयले गरेको छ । जसअनुसार एक हजार मतदात नबढ्ने गरी मतदान केन्द्र र सात हजार मतदाता नबढ्ने गरी मतदानस्थल निर्धारण गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणाअनुरुप कार्यक्रम सञ्चालन गरिएका छन् ।

दाबी विरोधलाई समय

बलेवा- मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूचीअनुसार आजदेखि मतदाता अद्यावधिक तथा दाबी विरोधको काम शुरुआत भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अद्यावधिका लागि दाबी विरोधको समय तोकेको छ । “कसैको दोहोरिएको वा नपरेको भए माग दाबी पेस गर्न भनेका छौँ”, निर्वाचन अधिकारी शिवराम शर्माले भने, “नाम नमिलेको, नागरिकतासँग भिडाउँदा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समय दिइएको हो ।” दाबी विरोधका लागि तीन दिनको समय तोकिएको छ । बागलुङमा पछिल्लो विवरणअनुसार एक लाख ८२ हजार ९९३ मतदाता रहेका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक लाख ६७ हजार २८२ थिए । पछिल्लो तीन वर्षमा १५ हजार ७ ११ मतदाता थपिएका छन् । तीमध्ये ९५ हजार २१ महिला र ८७ हजार ९७२ पुरुष रहेका छन् ।

“मतदाता नामावली दर्ता भएकाको सङ्ख्या धेरै छ तर १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन मिल्ने भएकाले सबै समावेश भएनन्”, उनले भने, “महिलाको सङ्ख्या पहिलेदेखि नै बढी देखिन्छ ।” विसं २०७४ को आमनिर्वाचमा ८७ हजार ४०३ महिला मतदाता हुँदा पुरुषको सङ्ख्या ७९ हजार ८७९ रहेको थियो । “दाबी विरोधको समय सकिएपछि सफाइको मौकाका लागि दुई दिनको समय हुन्छ”, उनले भने, “आयोगको निर्देशनअनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् ।”

जिल्लाका दुई निर्वाचन क्षेत्रमा १०३ मतदानस्थल तोकिएको छ । सदरमुकाम बागलुङ बजारलगायतका जनघनत्व धेरै भएका पालिका मुकामका मतदानस्थल धेरै रहेको कार्यालयले जनाएको छ । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्रको सङ्ख्या थप भएको भए पनि मतदानस्थल भने साविककै रहेको निर्वाचन कार्यालयले जनाएको छ । सङख्याका आधारमा मतदान केन्द्र भने २१९ पुर्याएको छ । “मतदानस्थलनै थप गर्ने गरी सङ्ख्या बढेको छैन, मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुङ्गो लगाउन सकिन्छ”,उनले भने,“अहिलेलाई अनुमानकै आधारमा काम भइरहेका छन् ।” जिल्लामा प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनपश्चात् सुनसान रहेको कार्यालयले आम निर्वाचन घोषणापछि धमाधम काम थालेको हो ।

रासस
लेखकको बारेमा
रासस