ताजा अपडेट »

कोरोनाविरुद्ध खोप अभियान: सरकार गम्भीर नहुँदा चुनौती

विहीबार, १५ माघ २०७७, ०७ : २६
6 Shares

काठमाडौँ । मुलुकमा पहिलोपटक चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।

खोपको थालनीले आशा सञ्चार गरेको छ । कोरोना महामारीले नेपालसहित विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी गिजोलेको छ । नेपालमा यो भाइरसले बुधबारसम्म दुई हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै पौने ३ लाख मानिस संक्रमित भएका छन् । नेपालमा कोरोनाको मृत्युदर शून्य दशमलव ७ प्रतिशत छ ।

कोरोनाको उपचारमा निश्चित औषधि अझैसम्म बन्न सकेको छैन तर महामारी नियन्त्रणका लागि केही खोप प्रयोगमा आइसकेका छन् र दर्जनौं देशमा लगाउन सुरु गरिएको छ । यसअघि सामान्यतया कुनै पनि खोप विकास गर्न ५/७ वर्ष लाग्ने गरेकोमा कोभिड–१९ को खोप एक वर्षमै विकास हुन सकेको छ । यसलाई वैज्ञानिक चमत्कार मानिएको छ ।

भारत सरकारले गत साता उपलब्ध गराएको १० लाख मात्रा खोपका कारण नेपाल अभियान सुरु गर्न सफल भएको हो । नेपालले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको र भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटद्वारा निर्माण गरेको कोभिसिल्ड खोप लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएसँगै आगामी दिनमा कसरी अगाडि बढ्छ भन्नेमा सबैको ध्यान तानिएको छ । नेपालले अहिलेसम्म जोहो गरेको खोप बढीमा पाँच लाख मानिसलाई पुग्ने हो र अबको १० दिनमा यो खोप प्रयोग भइसक्नेछ । त्यसपछि नेपालले चरणबद्ध हिसाबले कति छिटो र कुन खोप प्राप्त गर्न तथा खरिद गर्न सफल होला भन्ने आम चासो छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।