ताजा अपडेट »

उद्योगीहरुको समस्याप्रति सरकार गम्भीर छ : अर्थमन्त्री

बुधबार, १४ माघ २०७७, २२ : ३५
8 Shares

तिलोत्तमा । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ ले गर्दा सरकार चरम आर्थिक संकटमा परेको भएपनि उद्योगी व्यवसायीहरुको समस्याप्रति गम्भीर भएको बताएका छन् । कोभिड-१९ ले विश्वव्यापी रुपमा आर्थिक संकट सिर्जना गरिरहेका बेला सरकारले उद्योग व्यवसायी तथा निजी क्षेत्रलाई आवश्यक राहतका प्याकेजहरु ल्याएर प्रोत्साहनको प्रयास गरेको उल्लेख गरे । मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र एक सिक्काका दुई पाता जस्तै भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले संकटका बाबजुद पनि सरकारले लगानीको वातावरण सिर्जना गर्ने प्रयासमा लागेकोहुँदा व्यवसायीहरुलाई हतास नहुन आग्रह गरे ।

कोभिडका कारण सरकारले ठूलो आर्थिक संकटको सामना गर्नु परेको कुरालाई समेत जानकारी गराउँदै उनले अहिलेको अवस्था कठ्याङ्ग्रीदो जाडोमा छोटो सिरक जस्तै भएको उल्लेख गरे । ‘कठ्याङग्रीने चिसोमा छोटो सिरक ओढ्दा टाउको तिर तान्दा खुटृामा नपुग्ने, खुटृातिर तान्दा टाउँकोमा नपुग्ने हुन्छ ।’–पौडेलले भने ‘यस्तो बेलामा खुम्चिएर सुत्नु बाहेक केही विकल्प हुँदैन ।’

तिलोत्तमा चेम्वर अफकमर्सको बुधबार तिलोत्तमामा भएको छैठौ र सातौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक संकटका कारण उद्योगी, व्यवसायी तथा निजी क्षेत्रले अपेक्षा गरे अनुरुप सरकारले पूरा गर्न नसकेको हुन सक्ने स्वीकार गरे । कोभिडकै कारण राजश्व संकलनमा समेत कमी आएको बताउँदै उनले आर्थिक वर्षको अन्त्य सम्मा लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे । यसैगरी सरकारको पूँजीगत खर्च लक्ष्य अनुरुप नभएको स्वीकार गर्दै उनले त्यसमा पनि वृद्धि गर्ने प्रयास भइरहेको बताए ।

‘वैशाखमा निर्वाचन हुन्छ, ढुक्क हुनुस्’
फरक प्रसङ्गमा नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने दाबी गर्दै त्यसका लागि पनि तयारीमा लाग्न सबैलाई आह्वान गरेका छन् । चुनाव हुँदैन भन्ने दलहरु पनि विरोध कार्यक्रमका नाममा चुनावी प्रचार-प्रसारमा लागेको बताउँदै उनले वैशाखमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।

नेकपामा आफ्नै दल भित्रका नेताहरुले छापामार शैलीमा गोजीभित्र सरकार विरुद्ध अविश्वासको प्रस्ताव लिएर हिंडेका कारण संसद विघट गर्न प्रधानमन्त्री बाध्य भएको बताउँदै उनले आगामी निर्वाचनले सही व्यक्तिहरुलाई नयाँ जनादेश दिने उल्लेख गरे ।

चेम्वरकाअध्यक्ष जेपी कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उद्योग मन्त्री लिला गिरी, आन्तरिक राजस्व कार्यालय भैरकवाका प्रमुख मुक्तिप्रसाद आचार्य, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी चेम्वरका प्रथम उपाध्यक्ष बाबुलाल भुसाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे शुभकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।