ताजा अपडेट »

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : पोखरा एकेडेमीको विजयी सुरुवात

बुधबार, १४ माघ २०७७, १७ : ५१
6 Shares

बुटवल । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा बुधबारबाट तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा पोखरो क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ३ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २५ ओभरको खेलमा २३ ओभरमा अलआउट हुँदै ७५ रन बनायो । जसमा सिब्रिन श्रेष्ठले २५, प्रनिस अर्यालले ११ रन बनाए । बलिङमा रुपन्देही ११ का विप्रसन केसीले ५ ओभरमा १ मेर्डन राख्दै ८ रन खर्चेर ३ विकेट लिए । यस्तै, सौजन पाण्डेले २ र मनिष थापाले १ विकेट लिए । जवाफमा रुपन्देही ११ ले ९ विकेट गुमाएर ७२ रनमै समेटियो । जसमा विशाल भुसालले १३ तथा संकेत भट्टराई र विष्णु थापाले ११÷११ रन बनाए । बलिङमा पोखराका सिव्रिन श्रेष्ठले ५ ओभरमा २ मेर्डन राख्दै ८ रन खर्चेर ३ विकेट लिए । यस्तै, स्वीकार श्रेष्ठले ५ ओभरमा २ मेर्डन राख्दै ७ रन खर्चेर ३ विकेट लिए । खेलमा म्यान अफद म्याच सिब्रिन श्रेष्ठ भए । भोलि पहिलो खेल साई ग्लोबल एकेडेमी र काशी नोबल एकेडेमीबीच तथा दोस्रो खेल पोखरा र न्यू होराइजनबीच हुनेछ ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा क्रिकेट दोस्रो संस्करण रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका समाजिक विकासमन्त्री सुदर्शन बरालले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सदैव दृढ भएर लाग्ने जनाए । उनले नयाँनयाँ खेलाडी उत्पादन गर्न यस्ता किसिमका प्रतियोगिताले थप टेवा पुग्ने जनाए । सरकारले उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भन्दै मन्त्री बरालले शक्तिले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानकोे सअतुलनीय रहेको जनाए । क्रिकेटर गौचनले राष्ट्रिय खेल जीवनबाट संन्यास लिए पनि क्रिकेट क्षेत्रको विकासमा केही गरौं भन्ने हेतुले काम गरिरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।