ताजा अपडेट »

रुपन्देहीमा आफन्तले जग्गा हडप्न हत्यारालाई दिए २५ लाखको सुपारी

बुधबार, १४ माघ २०७७, १६ : ५४
6 Shares

भैरहवा । रुपन्देहीमा हत्या भएको एक साता भित्र नै प्रहरीले हत्यारा पत्ता लगाएको छ । मायादेवी गाउँपालिका–७ गरगट्टीमा माघ ६ गते भेटिएको शवको विषयमा प्रहरीले एक साता भित्रै सफल अनुसन्धान गरि हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

माघ ६ गते गरगट्टिमा जलेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । सुरुमा सनाखत हुन नसकेको उक्त शव सियारी गाउँपालिका वडा नम्बर २ बस्ने राजेन्द्र यादवको रहेको थियो । यादवलाई अंश बापत पाएको साढे १४ कठ्ठा जग्गाको लागि उनकै आफन्तले मानिसहरुको प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपीहरुलाई सार्वजनिक गरेको छ । ‘मृतकको सनाखत भएपछि उनि नरहँदा कसलाई बढी फाइदा हुन्छ भन्ने विषयमा केन्द्रित रहि अनुसन्धान गर्दै जाँदा हत्यारासम्म पुगेका हौ ।’ रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले भने ।

मृतक राजेन्द्र यादवको बाबु रामसुभग यादव सर्पले डशेर मृत्यु भएपछि उनको आमा गुलमती यादवलाई काका रामबेलास यादवले विवाह गरेका थिए । गुलमती र रामबेलासका तर्फबाट पनि ३ छोरा नरेश यादव, विरेन्द्र यादव र जोगेन्द्र यादव भएपछि मृतक करिब १५÷१६ बर्षदेखी भारत बस्दै आएका थिए । जान्ने भएपछि गत वर्ष राजेन्द्र फर्केर नेपाल आए र बाबु काका रामबेलास यादवसँग अंश माग गर्न थाले । यहिबाट नै उनलाई टाढा राख्ने प्रपन्चको सुरुवात भएको थियो । सुरुमा कान्छो भाइ विरेन्द्र यादवले श्रीमतिलाई बलात्कार गरेको भनि राजेन्द्रलाई फसाउन खोजेपछि उनि छुट्टै डेरा गरि बस्न थालेका थिए । अंश मुद्दा दिएका राजेन्द्रलाई रुपन्देही जिल्ला अदालतबाट मिलापत्र गरि साढे १४ कठ्ठा जग्गा अंश परे पनि अन्ततः उनि त्यो जग्गा भोग भने गर्न पाएनन् ।

राजेन्द्रलाई जग्गा नदिने सोच बनाइसकेका उनका काका बाबु रामबेलास र भाइ विरेन्द्रले हत्या गर्ने योजना बनाए । यस कामको लागि उनिहरुले आफ्नै गाउँको छेउमा बस्ने सन्तकुमार यादवलाई जिम्मा दिए । २५ लाखमा राजेन्द्रलाई मार्न कबुल गरेका सन्तकुमारले अर्का साथी सोनु मुरावलाई पनि आफ्नो योजनामा सामेल गराएको प्रहरी प्रमुख पोखरेलले भने । यता राजेन्द्र विवाह गर्ने तरखरमा रहेको कारण विवाह गर्न नपाउँदै उनलाई मार्ने योजना बुनिसकिएको थियो । यसको लागि भाइ विरेन्द्र यादव उनको हितैषी बनेका थिए । उनका काममा सहयोग गर्ने, मदिरा खुवाउने देखी अन्य काममा पनि उनि राजेन्द्र संगै हुने गरेको प्रहरीलाई बताएको प्रहरीको भनाई छ ।

माघ ५ गते राजेन्द्रको हत्या गर्ने योजना बन्यो । सो दिन बिरेन्द्र र मृतक राजेन्द्र बिहानै देखी रक्सी खान थाले त्यस पछि उनिहरु दुवै जना अटोमा र भाडाका हत्यारा सन्त कुमार यादव र सोनु मुराव लु१२प ३९५२ नम्बरको मोटरसाईकलमा भारतको नौतनवा पुगेका थिए । नौतनवामै सोनुले पाईप र निद्रा लाग्ने औषधी र लाईटर खरिद गरेको थिए ।

उताबाट मोटरसाईकलमै ४ जना बसेर नेपाल फर्केको र सीमावर्ती पसलमा बसेर पुनः मदिरा खान थाले । सोही क्रममा मृतक राजेन्द्रलाई निद्रा लगाउने औषधी झुक्याएर खुवाईएको थियो । औषधीको सेवन पछि अर्धचेत भएका राजेन्द्रलाई लैजान सन्त कुमारले साथीहरु आफताब आलम र राकेश यादवलाई बोलाए । दुई मोटरसाईकलमा ४ जना हिडेकोमा बिच बाटोबाट नै आफताब र राकेश छुट्टिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । पछि एउटै मोटरसाईकलमा ४ जना बसी घटनास्थल पुगेका थिए । घटनास्थल मायादेवी गाउँपालिका वडा नम्बर ७ मा पुगेर सन्तकुमार, बिरेन्द्र र सोनुले राजेन्द्रको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ । त्यसपछि हत्या गरेको स्थानबाट एक कान्ला तल ल्याई मृतकले नै लाएको कपडा फुकालेर उनको अनुहारमा राखी पेट्रोल खन्याई आगो लगाइएको थियो ।

माघ ६ गते त्यस क्षेत्रमा जलेको अवश्थामा शव भेटिए पछि मर्चवार क्षेत्रनै त्रासपुर्ण बनेको थियो । तत्काल सनाखत नभए पछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अनुसन्धान गर्न थाले पनि यसले खासै सफलता दिन सकेन । सनाखत नै नभए पछि प्रहरीले बिभिन्न कोणबाट उनको सनाखतमा जुट्यो । हराएका मानिसको विवरण, हराएका तर उजुरी नपरेका मानिसका विवरणबाट पनि मृतकको सनाखत नभए पछि प्रहरीले उनको फोटो र उनले लगाएको औंठीबाट उनको सनाखतको प्रयास थाल्यो । यहि बिचमा कसैले डेरामा बस्ने राजेन्द्र यादव हराईरहेको बारे प्रहरीलाई जानकारी गराए पछि मात्र राजेन्द्रको सनाखत भएको प्रहरीको भनाई छ ।

राजेन्द्रको सनाखत भए पछि प्रहरी थप अनुसन्धान गरि हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेका छ । यस्तै हत्यामा संलग्न रहेका २ जना फरार रहेको प्रहरीको भनाई छ । हत्या आरोपमा मूख्य योजनाकारहरु मृतकका बाबु काका रामबेलास यादव, उनका सम्धी बुद्धिराम कोहार, हत्यामा संलग्न मूख्य ब्यक्ति सन्त कुमार यादव र बिरेन्द्र यादव सहयोगीहरु आफताब मुसलमान र राकेश यादव पक्राउ परेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए । हत्यामा संलग्न रहेको मूख्य ब्यक्ति सोनु मुराव र मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजीत यादव भने फरार रहेको प्रहरीको भनाई छ ।

हत्यामा थप अन्य कोही संलग्न रहेको नरहेको बिषयमा र अन्य बिषयमा पनि थप अनुसन्धान जारी रहेको पक्राउ परेकालाई रुपन्देही जिल्ला अदालत पेश गरिएको पोखरेलले बताए ।

https://www.globalaawaj.com/archives/75144
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा