ताजा अपडेट »

पर्वतमा साढे सात हजार मतदाता थप

बुधबार, १४ माघ २०७७, १६ : ०९
4 Shares

पर्वत। आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । पर्वतमा पुस ५ गतेसम्मको तथ्याङ्कमा एक लाख १४ हजार ८२१ मतदाता सूचीकरण भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख सात हजार ३०० मतदाता थिए । आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा सात हजार ५२१ मतदाता थपिएको शर्माले बताए जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७५३ छन् । निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ । जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताए । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १४४ मतदान केन्द्र रहने भएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा ७४ मतदानस्थलमा १३९ केन्द्र रहेकामा यस पटकको निर्वाचनमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार एउटा केन्द्र थप्ने निर्णय भएको हो ।

चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा एक निर्वाचन क्षेत्र छ ।

माघ १५–२१ मा मतदाता नामावली अद्यावधिक गरिँदै

भोजपुर जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको कामको थालनी गर्ने भएको छ । कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न शरु गर्ने भएको हो ।

यही माघ १५ गतेबाट २१ गतेसम्ममा सम्पूर्ण स्थानीय तहको अद्यावधिको काम सक्ने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको बैठकले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको काम सञ्चलान गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । कार्य तालिकानुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने, उजूरी लिनेलगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग समन्वय र प्रचारप्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवनकुमार रेग्मीले बताए ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिएसँगै नामावाली अद्यावधिक तथा दाबी विरोधको काम शुरु गरिएको छ । माघ १५ देखि २६ गतेभित्रमा भोजपुरलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने जनाइएको छ ।

यहाँका मतदान केन्द्र र मतदानस्थल परिवर्तन गर्ने तथा थप गर्ने काम सम्पन्न भइसकेको छ । जिल्लाका छ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने छ मतदान केन्द्र थप गर्ने निर्णय भएको छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र छन् ।

डोटीमा मतदाता अद्यावधिक शुरु

डोटीः जिल्लाका नौवटै स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचन कार्यालयका कर्मचारी अहिले गाउँगाउँमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ । कार्यालयले यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्न नौवटै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको जिल्ला कार्यालयका प्रमुख डोटीका प्रमुख दलबहादुर मलासीले जानकारी दिए ।

वैशाखमा हुने निर्वाचनमा डोटीमा कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको कार्यालय प्रमुख मलासीले जानकारी दिए । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए । आगामी वैशाखमा हुने निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ ।

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले ११ हजार ७४ मतदाता थपिएका छन् । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनैतिक दलहरुलाई सहयोग गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने कार्यालयले जनाएको छ । विसं २०७४ को निर्वाचनमा डोटीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो ।

यस्तै समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो । जम्मा खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

रासस
लेखकको बारेमा
रासस