March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५, मंगलवार

शक्ति गौचनद्वारा बुवाको स्मृतिमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता

468

भैरहवा । नेपाली क्रिकेटर एवम् पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्नो बाबुको स्मृतिमा क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएका छन् । बाबु खड्गप्रसाद गौचनको स्मृतिमा शक्तिले भैरहवामा ‘तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता” को आयोजना गर्न लागेका हुन ।

सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराइएको छ । स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् । ‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँ–नयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग समेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु’, गौचनले भने । भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ । विधागत रुपमा वेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही-११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाण्डौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी सहभागी हुनेछन् । शक्तिको स्टार एकेडेमीमा अहिले ५० जना प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन् । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।

पछिल्लो अपडेट