May 17, 2022
नवलपरासी । पश्चिम नवलपरासीमा रोटरी क्लव स्थापना भएको छ । रुपन्देहीको बुटवलमा सञ्चालित रोटरी क्लब अफ बुटवल साउथको स्पोन्सरमा पश्चिम नवलपरासीको परासीमा शनिबार ‘रोटरी क्लब अफ नवलपरासी’ स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री वैजनाथ चौधरी क्लवको चार्टर प्रिजेन्टेशन सेरेमोनीमा बोल्दै उद्योगी व्यवसायीले आफ्नो पेशा व्यवसायसँगै सामाजिक सेवामा उत्प्रेरणात्मक काम सह्रानीय भएको बताए । उनले सामाजिक संघसंस्था, क्लबहरुले गर्ने काम निश्चित दायरामा हुने भएकाले सकेसम्म दायरा फराकिलो गराउन समेत सुझाव दिए ।
कार्यक्रममा क्लव स्पोन्सर रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेस भुर्तेलले रोटरी क्लव समाज सेवाको लागि स्थापना भएको र रोटरीले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी लगायतका ७ वटा विषयमा काम गर्ने भएकोले त्यस्ता क्षेत्रको पहिचान गरेर काम गर्न समेत नवगठित क्लवलाई सुझाव दिए । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा मात्रै त्यससंग जुध्नको लागि नेपालमा रोटरीका माध्यमबाट ७ करोड बढी सहयोग भएको जानकारी दिए ।
त्यस्तै नवगठित क्लवका चार्टर अध्यक्ष सुमन गोपाल आचार्यले रोटरीको भिजन र मिसन मन परेकोले आफूहरुले नवलपरासीमा पहिलो रोटरी क्लब स्थापना गरेको जानकारी दिए । साथै आगामी दिनमा रोटरीको उद्देश्य अनुरुपका कार्यक्रम ल्याउनुको साथै प्राथमिक क्षेत्रमा पर्ने एउटा गाउँ र एउटा बिद्यालय छनौट गरेर त्यसको उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रोटरी क्लव अफ बुटवल साउथले त्यसप्रकारका २ वटा रोटरी भिलेज कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै रोटरीले नेपालमा पूर्ण साक्षरता अभियान समेत सञ्चालनको तयारी गरेको छ ।
क्लवको चार्टर प्रिजेन्टेशन सेरेमोनीमा बोल्दै रोटरी क्लवका एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले रोटरी नभएको नवलपरासी जिल्लामा क्लब स्थापना गरेर सामाजिक सेवामा एउटा इटा थपिएको बताउँदै क्लवले रोटरीको उद्देश्य अनुरुपका कार्यक्रम गर्न सुझाव दिए ।
कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष आरसी आचार्य, रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष गौतम भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम रोटरी क्लव अफ बुटवल साउथका सचिव निशानबाबु कार्कीको सञ्चालनमा भएको थियो ।
प्रतिकृया दिनुहोस्