ताजा अपडेट »

द्रुतमार्गमा अप्टिकल फाइबर

सोमबार, १२ माघ २०७७, ०७ : ०२
4 Shares

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए । फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

अब नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा अप्टिकल फाइबरसँग सम्बन्धित टेलिकमको ‘एसफिकेसन’ अनुसारको ‘डक’ र त्यसमा अप्टिकल फाइबर राख्नेछ । काम सम्पन्न भइसकेपछि सेनाले सो फाइबर टेलिकमलाई हस्तान्तरण गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।