ताजा अपडेट »

विश्वकप तथा एसियन कप फुटबल छनोटका लागि पोखरामा प्रशिक्षण

शुक्रबार, ०९ माघ २०७७, २१ : २६
2 Shares

कास्की । विश्वकप फुटबल तथा एसियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ । राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रंगशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि दुई घण्टा अभ्यास गरेका हुन् ।

टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसूदन उपाध्यायले राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने जानकारी दिए । टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

‘काठमाडौंमा डेढ महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई स्वच्छ वातावरणमा रिफ्रेसमेन्टसहितको ट्रेनिङका लागि पोखरा आएका छौँ । यहाँको प्रशिक्षणले खेलाडीहरुमा हौसला मिल्ने विश्वास छ,’ उनले भने । बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र नौ जना अफिसियल छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणका अब तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग अगामी चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दै छ भने जोर्डनसँग जेठमा खेल्नेछ ।     

तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्नेछ । नेपालले कुवेतसँगको ‘होम म्याच’ भुटानमा खेलेको थियो । छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपाल छनोट चरणमा तीन अङ्कसहित समूहको चौथो स्थानमा रहेको छ ।

रासस
लेखकको बारेमा
रासस