May 19, 2022
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री ओली राष्ट्र निर्माण र जनताका अधिकारहरु स्थापित गर्नतर्फ नभई सामन्त राजा–महाराजाको पथमा हिँडेको आरोप लगाएका छन् । नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदल दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । नेता शर्माले सार्वभौमसत्ता जनताको हातमा भएको अवस्थामा केपी ओलीले त्योभन्दा माथि भएर संविधान च्यात्न लागेको भन्दै आफुहरु खबरदारी गर्दै आइरहेको बताए ।
नेता शर्माले पार्टीमा भएको विवाद पदको लागि नभइ विचार, विधि पद्धति र संविधानलाई बचाउनका लागि भएको दाबी गरे । अहिले केपी समूहले आफूहरुलाई काम गर्न नदिएकाले संसद विघटन गरेको भनी बाहिर प्रचार गरेको भन्दै त्यो गलत भएको समेत उनको भनाइ छ । ‘हामीले संघीय, समावेशी सिद्धान्त सहितको हाम्रा ठूलो त्याग, तपस्या, बलिदानी र आन्दोलनबाट ल्याएको संविधान कार्यान्वयन गर्दै लैजान भन्यौ’, उनले भने,–‘तर, उहाँ (केपी ओली) ले त्यो कुरा मान्नु भएन, संविधान विपरित कार्य गर्नुभयो, संविधान लत्याउने कार्य गर्नुभयो, त्यस्ता गतिबिधि हामीले गर्न दिएनौं, यही कारणले संसद नै विघटन गर्नुभयो ।’
फरक प्रसङ्गमा नेता शर्माले जातीय मुक्तीका लागि दलित समुदायहरु आर्थिक रुपमा बलियो हुनु पर्नेमा जोड दिए । आर्थिक क्रान्ती बिना दलित समुदायको मुक्ति र उत्थान हुन नसक्ने भन्दै उनीहरुको आर्थिक विकास र शशक्तिकरणका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस्